निगमको आग्रह: दशैंमा इन्धन अभाव हुदैन, असुरक्षित भण्डार नगरौं


निगमको आग्रह: दशैंमा इन्धन अभाव हुदैन, असुरक्षित भण्डार नगरौं

काठमाडौं : नेपाल आयल निगमले दशैंमा इन्धन अभाव नहुने स्पष्ट पारेको छ ।

केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको जनाएकाछन् । दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको र पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको निगमले जनाएकोछ ।

यसका अलवा डीपोहरुमा इन्धन पुर्याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने छ ।

दशेैं तिहार लक्षित गर्दै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरिसकेकोछ ।

जसका लागि निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ । यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छन् । उनीहरुलाई तिहारमा छुट्टी दिइने छ ।