नेपालगन्ज: वडा दशैको अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा प्राथमिक उपचार हुने भएको छ ।
मन्दिरमा दर्शन, पुजा पाठ गर्न आउने दर्शनार्थीको उल्लेख्य उपस्थित हुने र यस्तो अवस्थामा हुनसक्ने सामान्य चोटपटक जस्ता स्वास्थ्य समस्यालाई मध्यनगर गरी मन्दिर परिसरमा प्राथमिक उपचार सेवाको स्थापना गरिएको छ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अनुरोधमा नेपाल रेडक्रस सोसाइटी बाँकेले प्राथमिक उपचार सामाग्री र स्ट्रेचर गुठी व्यवस्थापन समितिलाई हस्तान्त्रण गरेको छ ।
उक्त सामग्री नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोबर्धनसिंह सम्झना, घरवारीटोल उपशाखाका सभापति सुरेन्द्रकुमार श्रेष्ठ, वेलासपुर उपशाखाका सभापति वीरेन्द्रमान श्रेष्ठले संयुक्तरुपमा बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका कार्यालय प्रमुख राजु केसीलाई शुक्रबार हस्तान्तरण गरेका छन् ।
प्राथमिक उपचार सेवा प्रदान गर्न नेपाल रेडक्रस सोसाइटी घरवारीटोल र वेलासपुर उपशाखा तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका स्वयंसेवक र नेपाल प्रहरीका जवानले उक्त सेवा प्रदान गर्ने छन् ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबाट उक्त सेवाको अनुगमन हुने ब्यवस्था समेत गरिएको छ ।