दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका


दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

File Photo

नेपालगन्ज : राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर, जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको संख्या पनि ठूलै छ ।

सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन, तर, यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ रिटा गाउँ नजीकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको पाँच दिन बितेको छ ।

घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि बाध्य भएर गिट्टी कुट्न लागेको उनले बताइन् ।

नौ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए ।  ‘विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ’, उनले भने,‘अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैँ र अन्य काम गर्नुपर्ला ।’

उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक सकी/नसकी गिट्टी कुट्ने काममा लागेका छन् । गिट्टी कुट्दाकुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउँने गरेको उनी बताउँछन् ।

अहिले अर्थ अभावका कारण समस्यामा परेका अधिकांश बालबालिका आफँै मजदुरी गर्दै आमाबाबालाई सघाउने गर्दछन् । तीस किलोको बोरामा गिट्टी कुटेर दिएमा ४० रुपैयाँ मात्र पाउने गरेको उनीहरुको भनाइ छ ।

गिट्टी कुट्दा काम गर्न सजिलो होस् भनी पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरु बताउँछन् ।

यसरी विद्यालय जाने उमेरका बालबालिका आर्थिक जोहोका लागि बालश्रममा लाग्न बाध्य भएका छन् ।

कसैलाई दशैँ आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।