आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै


आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

काठमाडौं: आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तरगत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साईतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ–आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साईतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

‘फूलपाती भित्राउन साइत हेर्नु पर्दैन’
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउनका लागि साईतको आवश्यकता नपर्ने पनि प्रा. डा. गौतम बताउँछन् ।