सीले आज राष्ट्रपति भण्डारी र काँग्रेस सभापति देउवासँग भेट्ने, प्रधानमन्त्रीसँग भोलि मात्रै
काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आइपुग्ने छन् ।
राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि चिनियाँ समयअनुसार शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक भेटवार्ता सकेर राष्ट्रपति सी नेपाल आउने छन् ।
यस्तो छ सुरक्षा व्यवस्था
राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्या देशका चारवटै सुरक्षा निकायले आफ्नो तयारी तीब्र बनाएका छन् । राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।
नेपाली सेना पहिलो घेरामा
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ,’ सैन्य प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्ने गरी सुरक्षा योजना बनेको छ ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भएको सैन्य प्रवक्ता पाण्डेले बताए ।
अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १६ हजार प्रहरी परिचालित हुनेछन् ।
राष्ट्रपति सीको सुरक्षाको लागि तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले सुरक्षा गर्नेछन् ।
राष्ट्रपति सीको सुरक्षाको लागि करिब दुई दिन गरेर ७ हजार भन्दा बढी सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरु परिचालित हुने सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बिहीबार ग्राण्ड रिहर्सल समेत भएको छ । दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म त्रिभुवन विमानस्थलमा रिहर्सल भएको थियो ।
रिहर्सल राष्ट्रपति सीलाई बस्ने होटलसम्म कसरी लैजाने भन्नेबारे अभ्यास गरिएको हो । सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ ।
सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा परिचालन कडा बनाइएको छ ।
अन्तर्राष्ट्रिय उडान प्रभावित हुने
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । भीभीआईपी उडानका कारण दुई दिन शनिबार र आईतबार दर्जनौँ अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी सवार जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।
राष्ट्रपति सीको भ्रमणदलमा को–को छन् ?
भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्का सदस्य एवव् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायत सहभागी रहनेछन् ।
सीले आज राष्ट्रपति भण्डारी र काँग्रेस सभापति देउवासँग भेट्ने, प्रधानमन्त्रीसँग भोलि मात्रै
चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेलगत्तै सी भेटघाटमा व्यस्त हुनेछन् । आजै उनले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने छन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति सीले देउवासँग होटल सोल्टीमा भेट्ने छन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ । सी उक्त रात्रीभोजमा सहभागि हुनेछन् ।
सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आईतबार विहान मात्रै भेट्ने छन् । सीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले विमानस्थलमा स्वागत गर्नेछन् । सीसँग प्रधानमन्त्री ओलीको भेट विमानस्थलमा आज भए पनि प्रतिनिधि मण्डलसहितको औपचारिक भेट भने भोलि मात्रै हुने छ ।
सी र प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने जनाइएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितीमा केही दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।