नारायण नगरपालिका र सिडिओ अफिस नै कमिशन चक्करमा

सडकमै पार्क: अलपत्र बसपार्क, समिति नै लापता


नारायण नगरपालिका र सिडिओ अफिस नै कमिशन चक्करमा

अलपत्र काँडाचौर बसपार्क / तस्विर: कमल न्यौपाने

काँडाचौर (दैलेख) : सडक छेउमै टिकट काउण्टर । सांघुरो सडक । त्यसैमाथि सवारी साधनको चाप । जिल्ला भित्रने र बाहिर आउजाउ गर्ने द्धार रहेको दैलेख बजार क्षेत्रमा मान्छेको चाप पनि धेरै नै देखिएको थियो । यात्रुलाई टुसुक्क बस्ने ठाउँ छैन । गाडीहरु सडकमै भद्रगोल पार्किङ हुँदा व्याबसायी मात्रै हैन, स्थानीयलाई समेत हैरानी छ ।

जिल्लामा नयाँ वस बर्सेनी थपिदैछन । तर, ती बस पार्किङका लागि काँडाचौरमा रहेको बसपार्कमा जादैनन् । यातायातका साधन सडकमै पार्किङ गर्न नपाईने नियम छ । तर, नारायण नगरपालिका र जिल्ला प्रशासनको लापरवाही तथा उदासिनताले दैलेखमा सडक छेउमै बस राखिदै आएका छन् ।

फराकिलो बसपार्क नहुँदा सडक दायाँबाया र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ हुँदै आएका छन । घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढी हुने ट्राफिक प्रहरी बताउँछन् । तर, यसरी बस रोक्न नदिन उनै प्रहरी मौन छन् । सदरमुकाम दैलेख बजारस्थित काँडाचौरमा निर्माण भएको बसपार्कको प्रयोग हुन नसक्दा लाखौं खर्चेर यहाँ बनाइएका भौतिक संरक्षण जीर्ण बन्दै गएका छन् ।

ब्यबस्थित बसपार्क काँडाचौरमा छ । त्यहाँ बस लैजान कसैले पनि चासो देखाएका छैनन् काँक्रेविहार समितिका इन्चार्ज भरत खड्का भन्छन ‘नियमअनुसार त बसपार्कमै बस जानुपर्ने हो तर, यस बारे कसैलाई चासो छैन् । हामीले के गर्नु ?’

काँडाचौर बसपार्कमा काउण्टर भवन अलपत्र छ । जिल्ला प्रहरी नजिकको सडकमा अव्यवस्थित रूपमा यातायात समितिले सडक नै कब्जा गरी टिकट काउण्टर राखेका छन् । यस्तो मनोमानीका विरूद्ध यहाँको स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरी समेत बेखबर झै बनिरहेको छ । यातायात समिति, नगरपालिका, प्रहरी र सिडिओ अफिसबीच कमिशनको चलखेल हुँदा डेढ करोडको बसपार्कमा बस पार्किङ नभई सडक नै प्रयोग भएको स्थानीयको आशंका छ ।

काँडाचौर बसपार्कको टिकट काउण्टर निर्माण गर्दा नगरपालिकाको लाखौ बजेट खर्च भएको छ । यसरी आफैले खर्चे बजेटको संरक्षण तथा प्रयोग गर्न नसक्दा सरकार वा नगरपालिकाको लाखौंको लगानी वालुवामा पानी झै भएको छ ।

राज्यको लाखौं रकम खर्च गरेर बनाइएका भौतिक संरचनाको उपयोग र ब्याबस्थापनको बिषयमा पनि नारायाण नगरपालिकाको जिम्मेवार निकाय नै बेखबर देखिन्छ । सम्बन्धित फाँट र कार्यालय प्रमुख नै जिम्मेवारी बाट पन्छीन खोजेको देखिएको छ ।

बसपार्कमा आउने यात्रुहरु शौचालयको लागि जँगलतिर जानुपर्ने बाध्यता रहेको छ । त्यति मात्र होइन शौचालयसंगै रहका बसपार्क काउन्टर, हाट बजारका लागि बनाइएको स्थान र प्रतिक्षालय समेत बनाय देखि नै प्रयोग संचालन गरिएका छैनन् ।

काँडाचौरमा शौचालयसंगै हाटबजार, प्रतिक्षलय र बस काउण्टर ६० लाखको लागतमा निर्माण भएको नगरपालिका बताउँछ । उक्त बसपार्क अहिले पनि लथालिंग अबस्थामा छ ।

बसपार्कमा बनको शौचालय संचालनको लागि स्थानीय आमा समुह र टोल सुरक्षा समितिले एउटा समिति बनाएर उक्त शौचालय सञ्चालनका लागि पहल गरेपनि सफल हुन नसकेको स्थानीय आमा समुहकी सदस्य रिना पोखरेल बताउँछिन् । उनकाअनुसार बसपार्कमा नियमित बस पार्क नहुँदा यस क्षेत्रका सयौं नागरिकले हरेक दिन दुःख पाउँनु परेको छ ।

बसपार्क व्यवस्थापन समिति, यहाँका स्थानीय दलका प्रतिनिधी र नारायण नगरपालिकाको उदासिनताले बसपार्क जीर्ण भइरहेको उनको भनाई छ । उनकाअनुसार बसपार्कमा बस नल्याउदा अहिले मापदण्ड र नियम विपरित सडक छेउमै बस रोकिएका छन् ।

नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल मात्रै नभई अहिलेका जनप्रतिनिधी संघीय संसद रविन्द्र शर्मा, राजबहादुर बढा, प्रदेश साँसद अमर थापा, धर्मराज रेग्मी लगायत पुर्वसाँसद भरत रेग्मीको समेत आवतजावतको सडक नै त्यहि बसपार्क हो । तर, उक्त बसपार्कमा भएका संरचना संरक्षण गर्ने, प्रयोग गर्ने र डेढ करोड लागतको बसपार्कको सदुपयोग गर्ने तर्फ यी कसैको अहिलेसम्म ध्यान जान सकेको छैन् ।

बसपार्क निर्माण गर्दा निर्माण समितिमा बस्नका लागि हानथाप गर्दै चरम राजनीति दाउपेचमा रहेका भूर्ति, नयाँगाउँ र खुर्सानीबारीका भरौटे नेताहरू समेत बषौंदेखि अलपत्र परेको बसपाको प्रयोग गर्नेतर्फ उदासिन देखिएका छन् । आफूलाई गाउँको मात्र नभई जिल्लाकै नेता ठान्ने तर जनताका दुःखमा चुईअ नबोल्ने ठालु नेताहरूका थोत्रा आश्वासनदेखि बसपार्क क्षेत्रका नागरिक आजित भइसकेका छन् ।

बसपार्क निर्माणदेखि अहिले बसपार्कमै नियमित बस आउनुपर्ने भन्दै बारम्बार कुरा उठाएको भएपनि सरकारमा भएका दलहरूले नै आफूहरुकै कुरा नसुनेको पुर्व साँसद भरत रेग्मी बताउँछिन् । नेकपा आबद्ध साँसद रेग्मीले भनिन‘ बसपार्क बनेको छ । यहाँ नियमित बस ल्याउनका लागि सबैभन्दा पहिला बसपार्क व्यवस्थापन समिति र यहाँका वडास्तरका नेताहरू जुर्मुराउँनुपर्छ । उहाँहरूले नेतृत्व गर्दा हाम्रो साथ सधै रहनेछ ।’ उनकाअनुसार काँडाचौर क्षेत्रमा काम गर्ने भन्दापनि गफ छाट्ने धेरै नेता भएकोले समस्या भएको हो ।

नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका युवा दुर्गाप्रसाद न्यौपाने बसपार्कमा बस ल्याउनका लागि आफूहरूले धेरै प्रयास गरेको बताउँछन् । उनी भन्छन् ‘जति प्रयास गरेपनि हामीले सकेनौं अब जसले सक्छ उसैले बसपार्कमा बस ल्याओस् ।’

बसपार्कमा बस नजादाँ सयौं यात्रुले दैनिक दुःख पाईरहेका छन् । स्थानीय नारायण नगरपालिका उदासिन छ । बसपार्कका लागि बार्षिक बजेट खर्च भइरहेको छ । तर, उक्त बजेट सदुपयोग छैन् भन्ने प्रशंगमा नारायण नगरपालिकाका अधिकृत निरक रावल बसपार्कमा बस ल्याउनका लागि थुप्रै निर्ण भइसकेको बताउँछन् ।

उनकाअनुसार सडकको पार्क बन्द गरेर काँडाचौरकै बसपार्कमा बस, किनीबस, जीप, हाइस माइक्रो पार्कका लागि अहिलेसम्म ३० वटा निर्णय भइसकेका छन् । अचम्मको कुरा न छ भने यतिका निर्णय भइसक्दा पनि यहाँका राजनीतिक दल, लगायत सरकोबारवाला निकायले पहिलो निर्णय नै कार्यान्वयन गर्न सकेका छैनन् । उनी भन्छन ‘पहिलो निर्णय नै कार्यान्वयन भए ३० वटा निर्णय गर्ने पर्थेन नि ?’

बसपार्कमा बनेको अत्याधुनिक शौचालयको दुरावस्था छ । यात्रु प्रतिक्षालय शौचालयका रूपमा परिणत भएको छ । बसपार्क वरिपरि दुर्गन्ध र फोहोर मात्रै देखिन्छ ।

नेपालगन्ज, कोहलपुर, सुर्खेत लगायतका स्थानबाट यात्रु लिए जाने बस,मिनीबस, माइक्रो लगायतका सवारी साधन बसपार्कमा अहिलेसम्म पनि नियमित पार्किङ भएका छैनन् । करिब डेढ करोड लागतमा निर्माण भएको बसपार्क जीर्ण छ । प्रयोगविहीन छ । तर, चालकले सडकमै बस रोक्ने गरेका छन् ।

यातायात व्यवसायीको मनोमानी, दैलेखस्थित नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, काँडाचौर बसपार्क व्यवस्थापन समिति लगायतको उदासिनता, लापरवाहीले प्रहरी कार्यालय तलको सडक विगतदेखि बस बिसौनीका रूपमा प्रयोग भइरहेको छ ।

सडक व्यवस्थापन नियामावली अनुसार बसपार्क हुँदा हुँदै यसरी सडकमै गाडी रोकेर पार्क गर्न नमिल्ने व्यवस्था छ । जथाभावी पार्किङ, ग्यारेज र यात्रुको फोहरले प्रहरी नजिकको सडक दैनिक प्रदूषित बन्दै गएको छ । तर, बसपार्कमा बस लैजानेतर्फ यहाँका राजनीतिक दल समेत उदासिन छन् ।

बसपार्क भएरै पनि बसहरू नियमित नआउँदा दैलेखका विभिन्न गाउँपालिका मात्रै नभई कालिकोटको पुर्वी क्षेत्रका सयौं नागरिकले सास्ती भोग्नु परेको स्थानीय बताउँछन् । व्यवस्थित बसपार्क हुँदा समेत बसपार्क व्यवस्थापन समिति, वडा नं ६ का जनप्रतिनिधीका साथै नेकपा र काँग्रेसकै स्थानीय नेताले समेत नियमित बस बसपार्कमा पार्किङका लागि आवाज नउठाएको स्थानीयको गुनासो छ ।

पछिल्लो समय बसपार्कमा भन्दा सडकमै धेरै सवारी साधन रोकिन्छन् । अहिले सिधै बसपार्कमा बस, मिनीबस र जिपहरु जादैनन् । दैलेखमा सवारीको पार्किङ सडक छेउ नै हो । यसले गर्दा राती बजारमा नजिकको प्हरी छेउ पुग्ने यात्रुले खुर्सानीबारी जान प्रतिव्यक्ति ३ देखि ५ सयसम्म अटो भाडा तिर्नुको विकल्प देखिएन् । तर, काँडाचौर बसपार्कमा बस लगिएको अवस्थामा खुर्सानीबारी मात्र होइन कालिकोटका विभिन्न गाउँपालिकामा जाने यात्रुलाई समेत ठूलो राहत हुने देखिएको छ ।