नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२, सीतापुरमा रहेको सचेत युवा मञ्च अराजकता र लागुऔषध विरुद्ध प्रहरीसंग सहकार्य गरेर अगाडि बढ्ने भएको छ ।
वृहत कार्ययोजना बनाएर प्रहरीसंग सहकार्य गर्दै अगाडि बढ्न खोजिरहेको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले बताए ।
यही अभियान स्वरुप आईतवार मञ्चले राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका वडा नम्बर–२ को कार्यालयको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न लागि सरोकारवालसंग वृहत अन्तरक्रिया समेत गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा हुने बताए ।
उनले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि शान्तिको खोजी घरबाटै हुनु पर्ने बताउँदै अभिभावकले आफ्ना छोरा–छोरीलाई राम्रो संस्कार दिनु पर्नेमा जोड दिए ।
नेपाल प्रहरीलाई गलत प्रभावमा नपरी राम्रो काम गरे लोकप्रियता कमाइने भन्दै सांसद रोकायले सत्यतथ्यमा लागे जनता साथ दिन तयार हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकवीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए ।
उनले लागुऔषध नियन्त्रणका लागि स्थानीय स्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिवद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दावी समेत गरे । खजुरा गाउँपालिका वडा नम्बर–२, का वडाध्यक्ष देविलाल खनालले अराजकता र लागुऔषध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने अठोटका साथ लागेको सचेत युवा मञ्चको साथमा वडा कार्यालय रहेको बताए ।
कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।