काठमाडौं : महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।
महरा असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए । उनलाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरिएको थियो । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।
अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।
शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।
महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।