पक्की घरमा बस्ने सपना पुरा


पक्की घरमा बस्ने सपना पुरा

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका बाढीपीडितको पक्की घरमा बस्ने सपना पुरा भएको छ ।

उनीहरूले यस वर्षको दशै समेत पक्की घरमा मनाएका छन् । सरकारी तथा विभिन्न गैरसरकारी निकायको अनुदान सहयोगमा यहाँका बाढीपीडितले पक्की घर निर्माण गरेका हुन् ।

हेबिट्याटको सहयोगमा महिला उपकार मञ्चले बाढीपीडितका लागि चार लाख रूपैयाँ लागतमा पक्की घर निर्माण गर्न सहयोग गरेको गाउँपालिका–६, टेपरीका प्रेम परियार बताउँछन् । पक्की घरमा बस्ने सपना पुरा भएको उनी बताउँछन् ।

घर निर्माण गर्न दुई लाख ५० हजार खर्च लागेको उनले बताए । उनले एक लाख ६५ हजार रुपैयाँ संस्थाले व्यहोरेको जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका–६, कमैयाडाँडाकी मीनाकुमारी थारूले पनि पक्की घरमा दसैँ मनाएको बताईन् ।

०७४ साउनमा राप्ती नदीमा आएको बाढीले घर बगाएपछि भत्केको घरमा गुजारा गर्दै आएका यहाँका बाढीपीडितले अहिले बरन्डासहित दुई कोठा, एक भान्सा भएको पक्की घर निर्माण गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ का ४० परिवार बाढीपीडितका लागि भूकम्प प्रतिरोधी घर निर्माण सुरु गरेकोमा ३६ घर पूरा भएको वडापालिकाले बताएको छ ।

बाढीबाट आंशिक क्षति भएका थप ४० विपन्न परिवारका लागि पनि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी गरिएको हेबिट्याट नेपालका बाढी प्रकोप प्रतिकार्य कार्यक्रम संयोजक साजन महर्जन बताउँछन् । एउटा घर निर्माण गर्न चार लाख २५ हजार लाग्ने अनुमान गरिएको छ ।