बेकामे शहरका सीसी क्यामेरा


बेकामे शहरका सीसी क्यामेरा

नेपालगन्ज :बाँकेको नेपालगन्जस्थित सुर्खेतरोडमा पछिल्लो समय थुप्रै घटना भएका छन् । एकैरात दर्जनौ पसल चोरीदेखि सडक दुर्घटना र सामुहिक झैझगडासम्मका घटना भएको प्रहरी रेकर्डमा छ ।

असोज ४ गते नर्सिङहोम अगाडि दाङकी सीता चौधरीलाई मोटरसाइकलले ठक्कर दियो । वीपीचोकदेखि दक्षिणतिर जादै गरेको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चौधरीको मृत्यु भएको थियो । तर, ठक्कर दिने मोटरसाइकलको भने अहिलेसम्म नम्बर खुल्न सकेको छैन ।
बाँकेका एसपी बीरबहादुर ओलीका अनुसार सडकमा राखिएका सीसी क्यामेरा बिग्रिएकाले सुर्खेतरोडमा हुने गरेका कुनैपनि घटनाका दोषी पक्राउ पर्न सकेका छैनन् ।

बडो उत्साहका साथ लाखौ खर्चेर जडान गरिएका सीसी क्यामेरा बिग्रिदा नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग बाणिज्य संघ लगायतका कुनैपनि निकायले चासो दिएनन् ।

चौधरीको जस्तो ‘हिट एण्ड रन’का घटनालाई मध्यनजर राखेर बाँके प्रहरीले सीसी क्यामेरा मर्मत थालेको एसपी ओली बताउँछन् ।

नेपालगन्जका सडकमा जडित ५६ वटा सीसी क्यामेराले अझै काम गरिसकेका छैनन् । चौधरीको घटना हुँदा सडकका ५६ मध्ये ९ वटा क्यामेराले काम गरेका थिए । एपसी ओलीका अनुसार, काठमाडौंबाट प्राविधिक बोलाएर ३३ वटा क्यामेरा मर्मत गरिएको छ । अझै २३ वटा मर्मत गर्न बाँकी रहेको छ ।

अपराध गरेर भाग्ने व्यक्ति र सवारी साधनलाई पत्ता लगाउन र पक्राउ गर्न सहज होस् भनेर सडकमा सीसी क्यामेरा राखिएका हुन् ।
५६ वटा सीसी क्यामेरा जडान गर्दा नेपालगन्ज उद्योग बाणिज्य संघको ठूलो योगदान थियो । तर, मर्मतमा उसको कुनै भूमिका छैन् ।
उपमहानगरमा ५६ बाहेक प्रदेश सरकारले बाँकेको सबै नाकामा १३ वटा सीसी क्यामेरा जडान गरिदिएको छ । एसपी ओलीले अझै एक दर्जन ठाउँमा सीसी क्यामेरा जडानको आवश्यकता रहेको बताए । ती ठाउँहरुको पहिचान गरिसकिएको छ ।