केही समयअघि नेपालगन्ज उपमहानगरपालिका अघि अतिक्रमित फुटपाथ हटाइँदै । फाइल तस्वीर/सेतोखरी
नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका भित्रको सडक अतिक्रणमा हटाउनका लागि पटक–पटक प्रयास गर्दा पनि सफल हुन सकेको छैन् ।
पसल अगाडीको फुटपाथ र बाटो कब्जा गरी पसल र ब्यवसाय संचालन गर्नेका कारण बजार समेत कुरूप बन्दै गएको छ ।
ठेला, रिक्सा, अनियन्त्रित पार्किगं र अब्यवस्थित सहरीकरणले समस्या थप्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायतको संलग्नतामा यस अघिदेखि चलेको सडक अतिक्रमण हटाउने अभियान अपेक्षा अनुसार सफल हुन नसकेको उपमहानगरपालिका नै बताउँछ ।
एकदिन खाली गराएको सडक अर्को दिन फेरि उस्तै हुने गरेको प्रहरी अधिकारीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम उपमहानगरपालिकाकै असहयोगका कारण अभियान प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताउँछन् ।
‘सडक फुटपाथ खाली गराउने जिम्मेवारी उपमहानगरको हो’ निरीक्षक बमले भने, ‘तर उल्टो भईरहेको छ, हामीले गएर उपमहानगरपालिकालाई भनेपछि मात्र अभियान सक्रिय हुन्छ ।
उपमहानगरपालिकाले पनि कर्मचारी प्रयाप्त नभएको भन्दै सक्रियता देखाउन मानेको छैन । ब्यवसायीलाई कर्मचारीले भ्रामक अश्वासन दिने गरेका छन् ।’
नेपालगन्ज सफा र ब्यवस्थित बनाउनु पर्ने सबैको दायित्व हो । उनले भने, ‘प्रहरीले एक्लै चाहेर मात्र सडक अतिक्रमण हट्न सक्दैन । ब्यवसायीको हकहितमा पनि ती कुराहरु लागु हुन्छन, नागरिक चेतनास्तर पनि सहयोगी देखिएन ।’
नेपालगन्ज उपमहानगरपालिका कर्मचारीले सडकबाट उठाएर ल्याएको सामग्री आपसी मिलोमतोमा फिर्ता हुने गरेको छ । भेरी अस्पताल अगाडी सडकमा ठेला लगाउँदै आएका एक ब्यवसायीले भने, ‘केहि दिन अघि सिलिण्डर उठाएर लगेको कर्मचारीले पाँच सय रुपैयाँ तिरेपछि फिर्ता दिए ।’ उनले रकमको कुनै रसीद आफुसँग नभएको बताउँदै भित्र भित्रैै मिलाएर सिलिण्डर लिएको बताए ।
अभियानका क्रममा सयौं ब्यवसायी, फुटपाथ पसलेको सामग्री उपमहानगरपालिका कर्मचारीले जफत गर्ने बहानामा उठाएर लगेपनि पछि मिलोमतोमा अधिकांशको सामग्री छुट्ने गरेको उनी बताउँछन् ।