File Photo
डुडुवा (बाँके):बाँकेको डुडुवा गाउँपालिका भौतिक संरचना निर्माणका निहुँमा बनकट्टीमा रहेको ऐलानी जमिन कब्जा गर्ने दाउमा देखिएको छ ।
यसका लागि गाउँपालिकाले सरकारी नीति तथा मापदण्ड मिच्ने प्रक्रिया अघि बढाएको छ ।
सरकारी मापदण्डअनुसार स्थानीय तहमा सरकारी भौतिक पुर्वाधार निर्माण गर्न अनिवार्य रूपमा ६ देखि आठ कठ्ठा जमिन हुनुपर्ने प्रावधान तोकेको छ ।
तर, डुडुवा गाउँपालिकाले बनकट्टीमा रहेको ऐलानी जमिन कब्जा गर्ने मनशायका साथ पाँच कठ्ठा तीन धुर जमिन मात्रै खरिदको प्रक्रिया अघि बढाएको खुलासा भएको छ ।
गाउँपालिकाको केन्द्र रहेको बनकट्टीमा सदरमुकाम नेपालगन्जबाट गएको सरकारी जमिन मुल्याङकन टोलीले समेत मापदण्ड विपरित गाउँपालिकाकै भनाईबमोजिम पाँच कठ्ठा तीन धुर जमिनको मात्र मुल्याङ्कन प्रक्रिया अघि बढाएको छ ।
सरकारी मुल्याङ्कन टोलिको उदासिनता गाउँपालिकाको लापरवाहीका कारण विगत एक महिनादेखि गाउँपालिकाको भवन निर्माणका लागि खरिद प्रक्रियामा रहेको जमिनको मुल्य निर्धारण हुन सकेको छैन् ।
सरकारी मूल्याङकन अनुसार अहिले बनकट्टी क्षेत्रमा करिब उक लाखका दरमा प्रति कठ्ठा जमिन खरिद गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिषण्ुप्रसाद धिताल बताउँछन् । तर, अहिले उक्त क्षेत्रमा प्रतिकठ्ठा तीनदेखि पाँच लाखसम्म जमिन खरिदबिक्रि भइरहेको स्थानीयका दाबी छ ।
स्थानीयको दाबी र सरकारी दर नमिलेपछि बाँके प्रशासन, मलापोत लगायतका सरकारी निकायका प्रतिनिधी सम्मिलित मुल्याङकन टोलीले समेत गाउँपालिकाले खरिद गर्न लागेको जमिनको दर कायम गर्न नसकेको धिताल बताउँछन् ।
उनकाअनुसार सरकारी नियामावलीमा गाउँपालिकाको भवन निर्माणका लागि ६ देखि आठ कठ्ठा जमिन अनिवार्य हुनुपर्ने प्रावधान छ ।
उनले भने ‘तर, हामीले खरिद गर्न लागेको जमिन नजिकै थुप्रै ऐलानी जमिन छ । त्यो जमिन प्रयोग गर्ने सोचमा छौं । त्यसैले सरकारले तोकेको मापदण्ड विपरित पाँच कठ्ठा तीनधुरमात्र जमिन खरिद गर्ने योजना बनाएका हौ ।’
सरकारी जमिन मुल्याँङ्कन टोलीले जमिनधनीसँगको सहमतिका आधारमा उक्त जमिनको मूल्य निर्धारण गरेपछि हामी सो जमिन खरिदका लागि तयार छौ प्रमुख प्रशासकीय अधिकृत धितालले भने ‘सरकारी टोली र जमिनधनीबीच मुल्यमा सहमति हुन नसक्दा विगत एक महिनादेखि जमिन खरिदको प्रक्रिया टुंगोमा पुगेको छैन् ।’
उक्त गाउँपालिकाको भौतिक पुर्वाधार निर्माणका लागि जिल्ला समन्वय समिति बाँकेले तीन करोड रकम विनियोजन गरेको धितालले बताए ।
उनकाअनुसार बनकठ्ठीमा जमिन खरिदपछि निर्माण हुने भवनका लागि गाउँपालिकाले दुई करोड विनियोजन गरेको छ । जिसस र गाउँपालिकाको गरी करिब पाँच करोडको लागतमा बनकट््ठीमा डुडुवा गाउँपालिकाको भवन निर्माण हुनेछ ।
गाउँपालिकाले खरिद गर्ने भनेको पाँच कठ्ठा तीन धुर जमिन मुआब्जाका लागि ४० लाख बजेट विनियोजन भएको उनी बताउँछन् । उनकाअनुसार भवन निर्माणका लागि सरकारी मापदण्ड बमोजिमको जमिन खरिद हुँदा मुआब्जाका लागि विनियोजित सबै रकम खर्च नहुने देखिएको छ । गाउँपालिकाले हडप्न लागेको ऐलानी जमिनका लागि रकम खर्च गर्नु नपर्ने गाउँपालिका बताउँछ ।
बाँकेमा रहेका आठमध्ये पाँचवटा स्थानीय तहका आफनै भौतिक पुर्वाधार छैनन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका बाहेकका अन्य स्थानीय तह आफ्नै भवनविहीन छन् ।
गाउँपालिकाले भाडाका घर, विद्यालय वा सामुदायिक भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् । बाँकेको डुडुवा गाउँपालिकाको केन्द्र बनकट्टी राखिएको छ ।
तर, गाउँपालिकाको आफनै भवन नहुँदा विगतदेखि नै समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत धिताल बताउँछन् । गाउँपालिकाको भवन निर्माण गर्ने तयारीमा जुटिरहेको उनी बताउँछन् । उनकाअनुसार भवनको अभावमा व्यवस्थित कार्यालय सञ्चालन गर्न सकिएको छैनरु।
अहिले गाउँपालिका कार्यालय सञ्चालन भएको भवनमा एउटै कोठामा दुई÷तीनवटा शाखा राखेर जेनतेन पालिका चलाउनु परेको गाउँपालिका उपाध्यक्ष शाहिद बानो बताउँछिन् ।
उनकाअनुसार भवन अभावले डुडुवा गाउँपालिका समस्यामा छ । भवन निर्माणका लागि आबश्यक प्रक्रिया अघि बढाएका छौं उनले भनिन् ‘अब केही महिनामै जमिन खरिद गरी भवन निर्माणको काम अघि बढाउँने योजना छ ।’
दक्षिण पूर्वमा नरैनापुर र भारत, उत्तरपूर्वमा राप्तीसोनारी, उत्तरमा कोहलपुर नगरपालिका र पश्चिममा नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको डुडुवा गाउँपालिका भौतिक पुर्वाधारको अभावमा समस्याबाट ग्रसित छ ।
२०६८ सालको जनगणना अनुसार यस गाउँपालिकामा ३७ हजार ५ सय ३३ जनसंख्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिताल बताउँछन् । कतिपय वडा कार्यालय विद्यालय, सामुदायिक वनका भवनमा सञ्चालन छन् ।