नेपालगन्ज:नेपालगन्ज उपमहानगरमै रहेको मनिकापुरका महिला अहिले पनि एम्बुलेन्सको सहज सेवाबाट बञ्चित छन् ।
स्वास्थ्य चौकीमा सुत्केरी गराउनेको चाप बढ्दो छ स्वास्थ्य चौकीका इन्चार्ज सरोजकुमार मिश्रले भने ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ ।’ इन्चार्ज मिश्रले भने, ‘सिस्टरहरूको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।’
प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको संख्या बढाएको उनी बताउँछन् । ‘चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकोले पनि सुत्केरी हुन आउनेको संख्या बढेको छ,’ उनले भने ।
नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् ।
उनी भन्छन, ‘बर्थिङ सेन्टरमा स्थानीयले अपनत्व महसुस गरेकै कारण प्रसुति सेवा प्रभावकारी देखिएको छ ।’ हप्तामा कम्तीमा पनि चार जना महिला सुत्केरी हुनकै लागि यहाँ आउने गरेको इन्चार्ज मिश्र बताउँछन् । गर्भवती उत्प्रेरणापावत चार पटक गर्भवती जाँच गराए आठ सय र बर्थिङ् सेन्टरमै सुत्केरी हुनेलाई एक हजार पोषणभत्ता दिँदै आएको उनी बताउँछन् ।
सरकारले प्रोत्साहन भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ् सेन्टरमै पुग्ने गरेको अनमी सार्की बताउँछिन् । मनिकापुरमा रहेको बर्थिङ् सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगन्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरमा आउने गरेका छन् ।
आजभोली मनिकापुर स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गर्न आउनेको भीड लाग्ने गरेको छ । घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका यहाँका महिला स्वास्थ्य संस्थामा आउने क्रम बढ्दो रहेको स्वास्थ्य चौकीकी अनमी आशा सार्की बताउँछिन् । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेका छ ।
तर, स्वास्थ्य चौकीमा एम्वुलेन्स नहुँदा सुत्केरी हुन आउने महिला लडिया र बुकीकै भरमा छन् । यहाँका महिलाका लागि यी साधन भरपर्दो बनेका छन् । सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा), बुकी (टाँगाजस्तै)को भर पर्नुपर्ने बाध्यता छ ।
एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ अनमी सार्कीले भनिन्, ‘त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।’ सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्की बताउँछिन् ।
गत आर्थिक वर्ष २०७४/०७५ मा १ सय २६ जना सुत्केरी भएकोमा आव २०७५/०७६ मा १ सय ७६ जना सुत्केरी भएका छन् । आव २०७६/०७७ को तीन महीनामा ५८ जना सुत्केरी भएका छन् ।