नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिकामा आगामी ६ र ७ गते ‘बृहत खजुरा सम्मेलन’ हुने भएको छ । यसका लागि आबश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष किस्मत कक्षपति बताउँछन् ।
खजुरा क्षेत्रमा पर्ने शैक्षिक संस्थाबाट आधारभूत तथा उच्च शिक्षा अध्ययन गरि बिभिन्न बिषयमा विज्ञता हासिल गरेका विज्ञहरुलाई एकत्रित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको उनी बताउाछन् ।
नगरोन्मुख गाउँपालिकाको विकासका दीर्घकालीन योजना सहित नमुना पालिकाको रूपमा स्थापित गर्न ‘बृहत खजुरा सम्मेलन’ को तयारी गरिएको गाउँपालिका प्रमुख कक्षपतिले जानकारी दिए ।
कार्तिक ६ गते गाउँपालिका वडा नम्बर–३, स्थित ज्ञानोदय परिसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रमुख आतिथ्यता उद्घाटन गरीने सम्मेलनमा बिशिष्ठ अतिथिका रूपमा इजरायलका महामहिम राजदूत सहभागी हुने पक्का भइसकेको गाउँपालिका प्रमुख कक्षपतिले बताए ।
‘देशमैं यो नमूना अभ्यास हो,’ खजुरा सम्मेलनको तयारीका बारेमा कक्षपतिले भने, ‘पहिलो पटक गर्न थालिएको बृहत खजुरा सम्मेलनमा बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरि खजुराको नमुना विकासका लागि दीर्घकालीन अवधारणा तयार गर्ने उद्देश्य राखिएको छ ।’
सम्मेलनमा सहभागी बिषय बिशेषज्ञबाट गाउँपालिकाले तयार गरेको १० बर्षे कार्ययोजना कार्यान्वयनका लागि सल्लाह सुझाब संकलन समेत गरिने अध्यक्ष कक्षपति बताउँछन् ।