मन्त्री राईले रोपेका अधिकांश विरूवा सुक्दै

अलपत्र हरित नगर अभियान


मन्त्री राईले रोपेका अधिकांश विरूवा सुक्दै

नेपालगन्ज:साउन २६/२०७६ मा सहरी विकास मन्त्री ईस्त्यिाक राईले सहर सौन्दर्यताका लागि नेपालगन्जमा १० हजार बिरुवा रोप्ने अभियानको थालनी गरेका थिए । उक्त अभियान खुबै तामझामका साथ गरिएको थियो ।

मन्त्री राईदेखि नेपालगन्ज उपमहानगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शसस्त्र तथा जनपथ प्रहरीका उच्च अधिकारी, नागरिक समाज, फेसबुके हरित अभियान्ताहरू लगायतको उक्त अभियानको थालनीमा सहभागीता देखिएको थियो ।

साउनको २६ गते हर्षउत्सालहसका साथ रोपिएका ती विरूवा दुई महिना नबित्दै अहिले सुक्न थालेका छन् ।

तत्कालिन अबस्थामा फेसबुकमा ठूलाठूला सेल्फी पोष्ट गर्ने फेसबुके अभियान्ता र उपमहानगरपालिका र मन्त्री राईको समेत यसरी रोपिएका बिरूवा सुक्न नदिने तर्फ धन जान सकेको छैन् ।

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले साउन २६ मा नेपालगन्जको जमुनाहामा बिरुवा रोपेर वृहत वृक्षारोपणको शुभारम्भ गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘अबको दुई तीन महिनाभित्र नगरमा १० हजार बिरुवा रोपिनेछन् ।’ तर, बिडम्बना दुई महिना नबित्दै रोपिएका ५०/६० वटा बिरूवा समेत सुक्दै गएका छन् । जुमनाहदेखि सुर्खेतरोडका विभिन्न स्थानमा फूल रोपिएका थिए ।

खाली ठाउँमा ठूला रुख हुने विरुवा रोप्ने लक्ष्इ थियो । सुर्खेत रोडको जमुनाहादेखि राँझा चोकसम्म मात्र दुईदेखि तीन हजार बिरुवा रोप्ने लक्ष्य थियो । नगरका सार्वजनिक स्थलमा पनि बिरुवा रोपिने साउन २६ मा मन्त्री राईले बताएका थिए । 

तर, अहिलेसम्म नगरका धेरै ठाउँमा बृक्षारोपण हुन सकेको छैन् । बृक्षारोपण भएका ठाउँमा समेत बिरूवा सुक्दै गएका छन स्थानीय स्मृति डिसीले भनिन् ‘मन्त्री र नेताका त सधै गफ यस्तै हुन् । तर, आफै ठेक्का लिए झै फेसबुकमा कुर्लिने फेसबुके हरित अभियानताहरू समेत गुपचुप देखिएक छन् ।’

उनले भनेका थिए ‘म आम नागरिकसँग अपिल गर्न चाहन्छु । तपाईहरु कम्तीमा आ÷ आफ्नो घरमा, आँगनमा, खेतवारीमा एउटा÷एउटा फलको विरुवा लगाएर वातावरण सफा राख्न बिरुवा रोप्नुहोस् ।’ आम नागरिकलाई यसरी अपिल गरेका मन्त्री राईको चौलिक्कास्थित घरमै हरिया बिरूवाको अभाव देखिने उनका छिमेकीहरू नाम नछाप्ने सर्तमा बताउँछन् ।

नेपालगन्जमा संबिधान दिवस २०७५ को अवसरमा पनि बृक्षारोपण गरिएको थियो । विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा ट्राफिक चोकमा २६ वटा विरुवा रोपेको थियो । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियान अन्तर्गत पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र सामाजिक सरोकार केन्द्र बाँकेले पनि उक्त कार्यक्रम गरी रूख रोपेका थिए ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल शमसेर राणाले बृक्षरोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गर्दै रोपिएका बिरुवाको संरक्षण गर्ने दाबी गरेका थिए ।

तर, अहिले यी कुनैपनि निकायले रोपेका बिरूवाले सहरलाई हरियाली बनाएको देखिदैन् । कतैकतै थोरै मात्रामा विरूवा हुर्केको भएपनि अधिकाशं बिरूवा सुक्दै गएका छन् ।

उपमहानगरपालिकाका मेयर राणा र उपमहानगरपालिका तथा फेसबुके हरित अभियान्ता उक्त बिरूवा संरक्षणमा उदासिन रहदै आएको नेपालगन्जका गोपाल खत्री बताउँछन् ।