‘आकाशे पुल’ कागतमै सिमित


‘आकाशे पुल’ कागतमै सिमित

नेपालगन्ज:बाँकेको नेपालगन्जमा अहिले करिब १० हजार अटोरिक्सा सञ्चालनमा छन् । सडकहरु साँघुरा छन् । चक्रपथ छैन । ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको छ । यस बिषयमा जिल्ला ट्राफिक कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाले दीर्घकालिन योजना लागू गर्न चासो देखाएका छैनन् ।

यहाँको ट्राफिक व्यवस्थापन मात्रै नभई बढ्दो जनसंख्या र सवारी चाप व्यवस्थापनका लागि पनि ‘आकाशे पुल बनाउनुको विकल्प छैन । सवारी साधनको वृद्धिसँगै नेपालगन्जले बेला बेलामा ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा गणेशमान र धम्बोझीचौकमा आकाशे पुल निर्माणका लागि नेपालगन्ज उपमहनागरपालिकाले यसअघि निर्णय नै गरिसकेको छ । तर, उपमहानगरपालिकाको निर्णय अहिलेसम्म कागतमै सिमित देखिएको छ ।
उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणा र प्रवक्ता तोकिएका एक नंम्बर वडाका अध्यक्ष प्रमोद रिजालले बेलाबखतमा जति घोक्रो सुक्ने गरि आकाशे पुलका बिषयमा हवला दिएपनि कामको हिसाबले प्रगती शून्यमै छ ।

चार वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि बसाइसराइ र सवारी साधनको वृद्धिले नेपालगन्जमा अहिले ट्राफिक व्यवस्थापनमा थप चुनौतीपूर्ण बन्दै गएको बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताउँछन् ।

ट्राफिक नियन्त्रणका लागि समेत आकाशे पुल निर्माण गरिनुपर्ने आबश्यकता देखिएको उनको भनाई छ । उपमहानगरपालिकाले सबैभन्दा बढी ट्राफिक जाम हुने धम्बोझी चोकमा ‘आकाशे पुल’ बनाउने निर्णय गरेपनि अहिलेसम्म निर्माणका लागि देखिने गरी काम अघि बढ्न नसेकेको स्थानीय बताउँछन् ।

उपमहानगरपालिकाले आकाशे पुलका लागि उपमहानगरपालिकाले एक करोड बजेट पनि विनियोजन गरिसकेको थियो । तर, उक्त बजेट अहिलेपनि सदुपयोग हुन सकेको छैन् ।

आकाशे पुल बनेपछि नगरको रौनक झन बढ्ने तथा आवागमन सहज हुने विश्वास नागरिकले गरेका थिए । तर, अहिलेसम्म पनि यसका लागि उपमहानगरपालिका उदासिन देखिएकोले नागरिकमा उक्त निर्णय कागतमै सिमित रहने आशंका जागेको स्थानीय स्मृति डिसी बताउँछिन् ।
नेपालगन्जको धम्बोझीमा निर्माण गर्ने भनिएको आकाशे पुलको डिपीआर तयार भइसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल बताउँछन् ।

उनकाअनुसार पहिलो चरणमा धम्बोझी चोकमा आकाशे पुल निर्माण हुने भएको छ । उपमहानगरपालिका नगर कार्यपालिका बोर्ड बैठकले धम्बोझी चोकमा आकाशे पुल बनाउने निर्णय गरेकोले यसको प्रक्रिया अघि बढिरहेको उनी बताउँछन् ।