नेपालगन्ज : बाँकेको खजुरामा ‘बृहत खजुरा सम्मेलन’को तयारी पुरा भएको छ । यहि ६ र ७ गते हुँने उक्त सम्मेलनका लागि खजुराको पहिचानसहितको आवश्यक कार्यपत्र लेख्नेदेखि भौतिक तथा प्राविधिक तयारी पुरा भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति बताउँछन् ।
स्थानीय ज्ञानोदय नमूना माविमा हुने सम्मेलनलाई भव्य रूपमा सफल बनाउँन गाउँपालिकाका शिक्षाविज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा बृहत खजुरा विकास सम्मेलन व्यवस्थापन समिति निर्माण गरिएको छ ।
उक्त व्यवस्थापन समितिले सम्मेलनका विभिन्न तयारीलाई तीव्र पारेको संयोजक केसी बताउँछन् । सम्मेलनको विहान ठीक ११ बजे उद्घाटन हुनेछ । सम्मेलनको उद्घाटन प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोख्रेलले गर्ने तयारी भएको अध्यक्ष कक्षपतिले बताए ।
खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दीगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषयविज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अध्यक्ष कक्षपति बताउँछन् ।
उक्त सम्मेलनमा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा बाहिर रहेका २ सय ५० जना व्यक्तिको सहभागिता रहनेछ ।
सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला शक्तिकरणमा खजुरा, खजुरामा कृषि ः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत र त्यसमाथि टिप्पणी हुनेछ ।
त्यस्तै हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुने, कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने गाउँपालिकाका अर्का युवाबिज्ञ किरण ढकालले बताए ।
खजुरामा पहिलो पटक हुन लागेको सम्मेलनमा जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषयविज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीको सहभागिता हुनेछ ।
विकासमा सबै खजुरेलीको साझेदारीे बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको उक्त सम्मेलनले नीतिगत रुपमा पनि ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पूरा गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको ढकाल बताउँछन् ।