नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा मापदण्ड विपरीत सञ्चालनमा रहेका मासु पसललाई सरकारी मापदण्ड पुरा गर्न दश दिनको समयावधी तोकिएको छ ।
नयाँ बसपार्क आडैमा रहेका करिब ७ वटा राँगाको मासु काट्ने पसलहरु मापदण्ड विपरित संचालन भएको भेटिएपछि कोहलपुर नगरपाकिलाले ती पसललाई मापदण्ड पुरा गर्न दश दिनको समयावधी दिएको हो ।
कोहलपुर नगरपालिकाको अनुगमन टोलिले बसपार्क क्षेत्रमा रहेका मासु पसलको अनुगमन गरी यी पसललाई यस्तो अल्टीमेटम दिएको अनुगमन समितिका संयोजक धनबहादुर खत्रीले बताए ।
मापदण्ड विपरित संचालन गरिएका मासु पसल संचालकहरुलाई १० दिन भित्र सरसफाई, दर्ता प्रक्रिया पु¥याउने गरि सचेत गराईएको खत्रीले बताए । अनुगमनका क्रममा ७ वटा पसलमध्ये एउटा मासु पसल मात्र दर्ता भएको छ ।
कतिपय पसलहरु दर्ता र मापदण्ड पुरा नगरी संचालनमा रहेका छन् । कोहलपुर क्षेत्रका मासु मात्रै होइन अधिकांश पसलहरू मापदण्ड विपरित छन् । यहाँका कतिपय मझौला तथा ठूला व्यवसाय समेत दर्ता र नविकरण भएका छैनन्।