बुटवल प्रदेश राजधानी हुँदैन, भए आन्दोलन हुन्छ: मेयर राणा


बुटवल प्रदेश राजधानी हुँदैन, भए आन्दोलन हुन्छ: मेयर राणा

बृहत खजुरा सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले प्रदेश पाँचको राजधानी दाङसम्म भए बाँके, बर्दियाका नागरिकले सहमति जनाउँन सक्ने बताएका छन् ।

अहिलेको अस्थायी राजधानी बुटवल बाँके, बर्दियाका नागरिकका लागि अपायक पर्ने दाबी गर्दै मेयर राणाले दाङको कुनैपनि कुनामा राजधानी बनेमा समर्थन दिन सकिने बताएका हुन् । तर, उनले बुटवललाई प्रदेश राजधानी स्वीकार्न नसकिने अडान लिएका छन् ।

विगतदेखि नै बुटवल प्रदेशका लागि उपयुक्त राजधानी नभएको भन्दै आएका मेयर राणाले बाँकेको खजुरामा बुधबार भएको बृहत खजुरा सम्मेलनको उद्घाटनमा फेरी उहि अडान दोहो¥याएका छन् ।

उनको यस्तो अडानलाई उक्त सम्मेलनमा सहभागी रहेका प्रदेश सांसददेखि बाँके, बर्दियाका स्थानीय तहका जनप्रतिनिधी आम नागरिक, कर्मचारी लगायतले समर्थन जनाएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समक्ष मेयर राणाले ‘बुटवल राजधानी स्वीकार्य हुँदैन् दाङसम्ममा भए जसोतसो स्वीकार्न सकिएला’ भन्दै यस बिषयमा मुख्यमन्त्रीले तत्कालै निर्णय गर्नुपर्ने दबाब दिएका छन् ।

बुटवल भन्दा बाहिर प्रदेश राजधानी घोषणा नगरी यदि कथमकथाचीद् बुटवलमै प्रदेश राजधानी घोषणा गरिए बाँके, बर्दियाका नागरिक प्रदेश पाँचबाट अलग हुने मेयर राणाले खुलासा समेत गरेका छन् । उनकाअनुसार प्रदेश राजधानी दाङसम्म भए ठिकै छ । नत्र बाँके, बर्दियाका नागरिक कर्णाली प्रदेशमा मिसिनुको विकल्प हुनेछैन् । मेयर राणाले भने ‘दाङ राजधानी तोक्नुहोस्, होइन भने हामीलाई कर्णालीमा जान दिनुहोस्’ उनले भने ‘अन्यथा बाँके, बर्दियाका नागरिकले सरकारका विरूद्ध सडक आन्दोलन गर्नुको विकल्प् छैन् ।’

मेयर राणाको यस्तो चेतावनी सहितको आग्रहत्मक प्रश्नको मुख्यमन्त्री पोखरेलले कुनै जवाफ नै दिन सकेनन् । उनले यो राजनीतिक बहस र छलफलको विषय भएकाले प्रदेश संसदमा छलफलको तयारी भइरहेको बताए ।

यस क्षेत्रका आम नागरिकको पायक पर्ने स्थानमा राजधानी हुने आश्वासन मुख्यमन्त्री पोखरेलले यसअघि दिएपनि प्रदेशको राजधानी बुटवलमै बनाउँनेतर्फ भित्रभित्र उनीपनि हसमत भएको जानकारहरू बताउँछन् ।

आफूलाई मुख्यमन्त्री दिए प्रदेश राजधानी बुटवलमै बनाउँने भनी उनले मुख्यमन्त्री हुँदा नै दलहरूसँग सहमति गरिसकेकोले अहिले मुख्यमन्त्रीलाई दाङ राजधानी बनाउँनेतर्फ लविङ् गर्न गाह्रो भएको नेकपा निकट बाँके, बर्दियाका नेताहरू बताउँछन् ।

मेयर राणाको भनाईमा सहमति देखाउँदै प्रदशे मन्त्री आरती पौडेल, बाँकेका प्रदेश सांसद नन्दलाल रोका, कृष्णा केसी‘नमूना’, बाबुराम गौतम लगायतले प्रदेश राजधानी बुटवल हुन नहुने जिकिर गरेका छन् । उनीहरूले पनि यदि बुटवलमै राजधानी घोषणा भए आफूहरू कर्णालीमा मिसिनका लागि जस्तो सूकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले ‘बृहत खजुरा सम्मेलन’को उद्देश्यमाथि प्रकाश पारेका थिए । गाउँपालिकाका शिक्षाविद् भक्तबहादुर केसीको सभापतित्वमा भएको उक्त सम्मेलनको मुख्यमन्त्री पोखरेलले बुधबार उद्घाटन गरेका छन् ।

सम्मेलनको उद्घाटनअघि मुख्यमन्त्र पोखरेलले गाउँपालिकामा नेता तथा कार्यकर्तासँग भेटघाट र गाउँपालिकाको नयाँ भवन निमार्णास्थलको अनुगमन समेत गरेका छन् ।