नेपाली सेनाको भर्ना छनोटमा अनियमितता
नेपालगन्ज : नेपाली सेनाको भर्ना छनोटमा आर्थिक लेनदेन तथा अनियमितता भएको पाइएको छ । पाँच हजार आठ सयजनाका लागि गत साउन १९ गते सूचना प्रकाशित गरी ४० भर्ना केन्द्रहरूबाट छनोट गर्ने क्रममा केही ठाउँमा अनियमितता भएको पाइएको हो ।
भर्ना प्रक्रियामा सैनिककै संलग्नतामा कीर्ते तथा आर्थिक लेनदेन भएको आशंकामा नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
जंगी अड्डाका अनुसार चार जना सैनिक र अन्य २३ जना गैरसैनिकहरूमाथि अनुसन्धान भइरहेको छ । उत्तर पश्चिम पृतना हेडक्वाटरको केन्द्रमा नक्कली परिचय पत्र बनाइ कीर्ते गर्ने तीन जना र श्री नम्बर पाँच बाहिनी अड्डा, कैलालीको केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकमा एक जना सैनिकमाथि अनुसन्धान भइरहेको जंगी अड्डाले जानकारी दिएको छ ।
उत्तर पश्चिम पृतनाकै केन्द्रमा नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने ६ जना र नौ जना नक्कली परीक्षाथीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्तिको खोजी भइहरेको नेपाली सेनाले जनाएको छ ।
जुम्लामा रहेको श्री नम्बर २४ बाहिनी अड्डा र कैलालीमा रहेको श्री नम्बर पाँच बाहिनी अडडको केन्द्रबाट चार नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरूलाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी भने फरार छन् । अन्य ३ वटा भर्ना केन्द्रमा पनि आर्थिक लेनदेनमा संलग्न चार जना गैरसैनिक व्यक्ति पक्राउ परिसकेको नेपाली सेनाले बताएको छ ।