नेपालगन्ज: विद्युतीकरण शुरु भएको झण्डै डेढ दशकपछि कोहलपुर/धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरू भएको छ । वन क्षेत्रको अवरोधका कारण पोल गाड्ने र तार तान्ने काम अहिलेसम्म हुन सकेको थिएन ।
गत वर्ष साउनमा मन्त्रीपरिषद्ले वन क्षेत्रको रुख काट्ने निर्णय गरेपछि विद्युतीकरणको कामले तिब्रता पाएको थियो । नेपाल विद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालयले परीक्षण हुने बारेमा सार्वजनिक सूचना नै जारी आमनागरिकलाई जानकारी दिएको छ ।
जारी सूचना अनुसार प्राधिकरणले ३३ केभी प्रसारण लाइनको परीक्षणका लागी ११ हजार भोल्ट करेन्ट प्रवाह गरिने भएको छ । राप्ती नदीदेखी धामपुर सबस्टेशन खण्डमा पर्ने कुण्डा, डाडाचेप्री, गुलेरीचोक, ढेलैया चोक, आलीनगर, गोडधोई,जुरपनिया, धामपुर तथा धामपुर सबस्टेशन भित्रको क्षेत्रमा लाइन निर्माणको काम भइरहेको उक्त सूचनामा उल्लेख गरिएको छ ।
विद्युतीकरणका लागि काम भइरहेको क्षेत्र वरपर रहेका विद्युतिय तार, पोल, स्टे आदीमा चढने, तार छुने, कार्य नगर्न÷ नगराउँन हुन विद्युत प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ ।
कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन र विद्युतीकरणको निर्माणको काम गएको साउनदेखि शुरू भएको थियो । निर्माण कम्पनीका तर्फबाट राजेन्द्र मिश्रले उच्च अदालत तुल्सीपुर नेपालगन्जमा दायर गरेको एक रिट, अदालतले खारेज गरेपछि निर्माणको काम गएको साउनदेखि शुरू भएको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोजकुमार सिंह बताउँछन् ।
कोहलपुर–धाममुरअन्तर्गत ४३ किलोमिटर मुख्य लाइनमध्ये झण्डै चार किलोमिटरमा तार तान्ने कार्य सम्पन्न भइसकेको छ । विवादले रोकिएको निर्माणको काम तीन महिनामा सम्पन्न हुने भनिए अनुसार बिहीबारदेखि विद्युतीकरणको काम अघि बढेको उनी बताउँछन् ।
यसबाट नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ वडाका झण्डै एक लाख नागरिकलाई विद्युत् सेवा पु¥याउने लक्ष्य राखिएको उनी बताउँछन् ।
राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका लागि २०६३ सालदेखि विद्युतीकरणको काम शुरू भए पनि सामुदायिक वनमा रहेका रूख कटान गर्ने निर्णय हुन नसक्दा अघि बढ्न सकेको थिएन ।
यस क्षेत्रमा विद्युतीकरणका लागि स्थानीयले तीन करोड जम्मा गरेका थिए । सरकारको २२ करोड रूपैयाँ १० वर्षदेखि खातामा बसिरहेको थियो । विद्युतीकरणका लागि राप्तीसोनारी गाउँपालिकाले यसअघि नै एक करोड विनियोजन गरिसकेको पालिका अध्यक्ष लाहुराम चौधरी बताउँछन् ।