नेपालगन्ज:नेपालीहरुको दोस्रो महान पर्व यमपञ्चक अर्था तिहार शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबार बेलुकी यमदीपदान गरि यस वर्षको तिहार शुरु भएको हो ।
यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने आज शनिबार मनाइँदै छ । त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
कागलाई दही, भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।
यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइँदै छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
यस्तै कार्तिक १० गते आइतवार बिहान नरक स्नानसहित कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा गर्न समितिको सुझाव छ । गाई, गोरु र आत्म (म्ह) पूजा यस वर्ष कात्तिक ११ गते परेको छ ।
११ गते बिहान ९ बजेर ४३ मिनटसम्म औँशी तिथि परेको छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा को साइत सोही दिन परेको हो ।
तिहारको मुख्य दिन भाइटीका कार्तिक १२ गते मंगलवार परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनटमा परेको छ । मंगलवार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समितिले प्रस्ट पारेको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको निस्कर्ष छ ।
तिहार सुरु नहुदै नेपालगन्ज लगायत देशका मुख्य शहरहरुमा झिलिमिलि बत्ती बाल्न शुरु भइसकेको छ । तिहारलाई विभिन्न नामले चिनिन्छ । यमपञ्चक, दिपावली, तिहार अलावा भैयादुज लगायतका नामले पनि चिनिन्छ ।
तिहार शुरु भएसंगै नेपालगन्ज विभिन्न रङ्गहरु मिश्रित विजुली लाईटले झिलिमिली भएकोछ । तिहारको रौनक सबैको घर–आँगनमा छाइसकेको छ । तिहारको लागि झिलिमिली बत्ति र फुलहरुले घरलाई सुन्दर बनाउन शुरुवात भैसकेको छ । अहिले अधिकांश मानिसहरु घरको
सर–सफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने कार्यमा व्यस्त छन् ।
भाईटिकाका लागि किनमेल गर्नेको संख्या पनि बढेर आएकोछ । नेपालगन्जका विभिन्न क्षेत्रमा सर्वसाधरणको घुँइचो लागेको छ । ब्यापार व्यवसाय सञ्चालन गरेकालाई सामाग्री विक्रि गर्न भ्याईनभ्याइ भएकोछ । विशेष गरि वर्षमा तिज, दशैं, तिहार, छठ, होली लगातका चाडबाडमा ब्यापार व्यवसाय बढि हुने भएकाले पनि यही अवसरलाई छोपेर विभिन्न स्किमका साथ ब्यापार व्यवसाय हुने गरेकोछ ।