आर्थिक अनियमितता छानबीनको माग, उदासिन अख्तियार
नेपालगन्ज : कैदीबन्दीले बाँकेस्थित नेपालगन्ज कारागारमा बिहीबार विहानै लगाएको ताला शुक्रबार दिउँसो खुलेको छ । कारागारका जेलर भरतराज पाण्डेले १५ लाख घुस लिएको आरोप लगाउँदै यहाँका कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए ।
कारगारका प्रमुख जेलर पाण्डे, नाईके भरत फडेरा र चौकीदार मानबहादुर शाहीको मिलेमतोमा कारगारमा लाखौं रूपैयाँ हिनामिना भएको आशंकासहित कैदीबन्दीले उनीहरूको सरूवा माग समेत गरेका थिए ।
उनीहरूले जेलर पाण्डेले उपचार खर्च, सरसफाई खर्च, खाना खर्चको नाममा कैदीबन्दीबाट रकम उठाउँदै आएको आरोप लगाएका थिए । नाइके तथा सह÷नाइके नियुक्ति गर्दा चौकीदार र जेलरको मिलेमतोमा प्रतिव्यक्ति ५ हजार देखि १५ हजार रुपैयाँ लिने गरेको, सरसफाई भनेर मासिक रुपमा अनिवार्य एक रूपैयाँ कैदीबाट उठाउँदै आएको, पहिला फोन गर्दा २० रुपैयाँ मात्रै तिर्नु पथ्यो ।
अहिले अनिवार्य ६० तिर्न बाध्य बनाएको, कैदी बन्दी विरामी पर्दा चन्दा संकलन गरेर वा आफैंले व्यक्तिगत खर्चमा उपचार गर्दै आएको, जेलर र चौकीदारको मिलेमतोमा सरूवा गर्दा अनिवार्य १० देखि २५ हजार रुपैयाँ माग्ने गरेको लगायतका अनियमितता विरुद्ध कैदीबन्दीले आन्दोलन गरेका थिए ।
बिहीबार विहानदेखि चलेको कारागारको आन्दोलन साँझसम्म तनावपूर्ण रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली लगायतका बाँकेस्थित उच्च सुरक्षा अधिकारी, टोलीले बिहीबार उक्त समस्या समाधान गर्न सकेको थिएन् ।
कारागारका आन्दोलित कैदीबन्दीले सरकारी सुरक्षा निकायसँग मात्र नभई बाँकेस्थित राष्ट्रिय मानवअधिकार आयोग, पत्रकार, नागरिक समाज, कानून व्यवसायीको रोहबरमा मात्रै छलफल र वार्ता गर्ने अडान लिएपछि बिहीबार सिडिओ खड्कासहितको सरकारी सुरक्षा टोलीको ताला खोल्ने प्रयास असफल भएको थियो ।
जिल्लामा हुने यस्ता गतिविधीमा समन्वयकर्ताको भूमिका खेल्ने अधिकारकर्मी, सञ्चारकर्मी तथा कानून व्यवसायीको रोबहरमा शुक्रबार दिउँसो कारगारमा लगाइएको ताला खोलिएको उच्च अदालत बारका अध्यक्ष विकास आचार्यले बताए ।
उनकाअनुसार कारगारका कैदीबन्दीले राखेका माग सरकारी निकाय अर्थात कारगारा विभागले पुरा गरेपछि बिहीबार लगाइएको ताला शुक्रबार खोलिएको हो । कारगारका कैदीबन्दीले राखेको मागअनुसार कारगार विभागले बाँके कारागारका जेलर भरतराज पाण्डेको सरूवा गरेको छ । चौकीदार र नाईकेको हेरफेर गर्ने सहमति भएको छ ।
कारगारका कैदीबन्दीले नै जेलर पाण्डेले विविध शिर्षक र नाइके तथा चौकिदार नियुक्तिमा लाखौं रूप्रयाँ घुस लिएको आरोप लगाएपनि यस बिषयमा नेपालगन्जमै रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बाँके जिल्ला प्रशासन लगायतका सरोकार तथा नियमनकारी निकायहरू मौन रहेका छन् ।
आन्दोलित कैदीबन्दीले जेलर पाण्डे लगायतका व्यक्तिहरू कारागारमा रहेका कैदीबन्दीको नाममा लाखौं आर्थिक चलखेल गरेकोले उनीहरूमाथि तत्काल छानबीन गरी कानूनी कारवाही अघि बढाउनुपर्ने बताएका छन् । तर, उजुरी नआएको भन्दै नेपालगन्जस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग र यहाँका पदाधिकारी यस बिषयमा उदासिन छन् ।
बाँकेस्थित सुरक्षा समितिको बिहीबारको बैठकले जेलर, चौकिदार र नाइकेलाई अन्यत्र सार्न कारागार विभागमा सिफारिस गरेको थियो । यसै सिफारिसका आधरमा विभागले जेलर पाण्डेको सरूवा र चौकीदार र नाइकेको हेरफेर गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।