नेपालगन्ज : तराईवासी हिन्दु धर्मावलम्बीको महापर्व छठ शनिबार धुमधामका साथ मनाइएको छ । छठ पर्वको अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा शनिबार बेलुका विशेष चहलपहल रह्यो ।
बागेश्वरी मन्दिर परिसरमा रहेको तालमा छठको विशेष रौनकता छाएको थियो । नेपालगन्जका जनप्रतिनिधी, नागरिक समाज, राजनीतिक दलका नेता, व्यवसायी लगायत छठको शुभकामना आदान–प्रदान गर्न पुगेका थिए । छठका ब्रतालुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । भगवान भाष्करलाई व्रतालुहरुले अर्घ दिएका हुन् ।
नदी, तलाऊ तथा पोखरी किनारमा बनाइएका छठ घाटमा शनिबार ब्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिसकेपछि आईतबार बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ । घरका सदस्यहरुले ब्रतालुका लागी नदी किनारमा आ–आफ्नो स्थान सुरक्षित गरेर श्रृङ्गारी सकेका छन् ।
छठ पूजाको लागि जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिंगारिएको छ । झिलीमिली बत्तिले दुलही झै सजाइएका छठ घाटहरु यति खेर ब्रतालु तथा दर्शनार्थीको लागी तयार छन् । यिनै छठ घाटहरुमा शनिबार ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका हुन् ।
शुक्रबार बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजापछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार ब्रत बसे । शुक्रबार बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर ब्रत बसेका ब्रतालुले आईतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्न र जल ग्रहण गर्नेछन् ।
लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो ब्रत तराईवासीले निकै आस्था र श्रद्धा पूर्वक मनाउने गर्छन् । छठ ब्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परिवारमा सुख शान्ति छाउने जनविश्वास छ ।