File Photo
नेपालगन्ज : नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेको चहलपहल बाक्लिएको छ । बैदेशिक रोजगारीमा भारत जाने मात्र नभई भारतबाट नेपाल आउनेको पनि उत्तिकै भीड छ ।
रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको संख्या बढ्दै गएको सीमा प्रहरी चौकीका इन्चार्ज माधव रिजाल बताउँछन् । नेपालगन्जको जमुनाह नाकाबाट दैनिक सयौं नेपाली नागरिक भारततिर जाने र भारतीय नागरिक नेपालतिर आइरहेका उनले भने ‘पछिल्ला दिन भारत जाने मात्रै नभई नेपाल आउने मजदुर पनि बढेका छन् ।’
भारत बरेलीका रामनिवास अहिर रोजगारीका लागि नेपाल आउने गरेको बताउँछन् । उनी रोजगारीका लागि नेपालगन्ज नाका हुँदै काठमाडौं गएका छन् ।
सीमा क्षेत्रका भारतीय नागरिक नेपालमा सहजै काम पाइने भन्दै भारतबाट नेपालतर्फ भित्रिने गरेको रिजाल बताउँछन् ।
दशैतिहार सकिएलगत्तै भारत जाने नेपालीको सीमामा लर्को लाग्ने गरेको छ । दशैंतिहार सकिएलगत्तै रोजगारीको लागि पुनः भारत फर्किने क्रम बढ्दै छ ।
नेपालमा रोजगारीको अभावको रहेको र स्वरोजगारको लागि सीप र लागतको अभावले रोजगारीको लागि बर्सेनी भारत जानुको विकल्प नभएको दैलेख भूर्तिका ज्ञानु रेग्मी बताउँछन् ।
‘आफूसँग हातमा सीप छैन, ब्यापार ब्यवसाय गर्न लगानी छैन, अनि महिनादिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । त्यसैले बाध्यताले गर्दा भारतमा मजदुरी गरेर बस्नुपरेको छ उनले भने ‘आफ्नै गाउँठाउँमा बस्ने रहर त सबैलाई हुन्छ नि, तर यहाँ काम पाइँदैन ।’
बाँकेसँगै बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोट जिल्लामा फर्किएका नेपाली चाडपर्व सकिएसँगै कामको लागि पुनः भारत हिडेका हुन् । उनीहरु समूह बनाएर भारततिर गइरहेरुका इन्चार्ज रिजाल बताउँछन् ।