कारकादोँमा ‘घण्टाघर’ : बजेट ६० लाख, प्रगती शून्य


कारकादोँमा ‘घण्टाघर’ : बजेट ६० लाख, प्रगती शून्य

नेपालगन्ज : राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाएका थिए । त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन पनि त्यहि बेला शुरू भएको थियो ।

त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउन चलनले ०५२ सालसम्म निरन्तरता पाएको थियो ।

लामो कालखण्ड त्यतिबेलाका नागरिकले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्ने गरेका थिए । काठमाडौमा होस् वा सुर्खेत र धरान लगायतका सहरमा भएका घण्टाघरको काम एउटै र उस्तै थियो ।

बिस्तारै प्रविधिले फड्को मार्दै गएपछि अहिले ती घण्टाघरको आवश्यकता अनिवार्य बनेको छैन् । अहिले पनि समयको जनाउ दिइरहने घण्टाघरको घडीमा सायदै कसैको ध्यान जान्छ जस्तो लाग्दैन् । न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन् । हात/हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था यतिबेला देखिदैन् ।

यसले सही समय दिएको छ/छैन भनेर चासो राख्नेहरू पनि सायदै कोही छैनन् । विभिन्न सहरमा रहेका कुनै बेला प्रतिष्ठित भवनका रूपमा रहेको घण्टाघर स्याहार र संरक्षण अभावमा जीर्ण छन् ।

भवनको सरसफाइ, मर्मतसम्भार र जीर्णोद्धारमा कसैको ध्यान गएको छैन । कुनै पनि निकायले यसको जिम्मेवारी नलिँदा ऐतिहासिक महत्वका घण्टाघर बेवारिसे बनिरहेका छन् । यस्तो बेला नेपालगन्जको कारकाँदोमा पनि घण्टाघर निर्माणकोे चर्चा चलिनै रहेको छ । तर, चर्चा चर्चामै सिमित देखिएको छ । कतिपयले अहिलेको जमानामा घण्टाघरमा गरिने लगानी ब्यर्थै भएको भन्दै त्यसको उपादेयतामाथि नै प्रश्न उठाईरहेका छन् ।

कारकाँदोमा घण्टाघर निर्माणका लागि डिपिआर पनि तयार भइसकेको छ । निर्माण कम्पनीसँग सम्झौता भएको छ । ६० लाख रुपैयाँमा निर्माण हुने घण्टाघर ५० फिट अग्लो हुनेछ । घरको चारैतर्फ डिजिटल घडी राखिने छ । भूइँतलामा ट्राफिक र प्रहरी बस्ने ब्यवस्था सहितका संरचना निर्माण गर्ने डिजाईन छ । तर, यसरी डिजाइन र योजना बनाएको वषौं वित्दा पनि कामले गति लिने छाँटकाँट छैन् ।

उपमहानगरपालिका वडा नम्बर१८ ले पनि आफ्नो क्षेत्रमा पर्ने कारकाँदो चोकमा के गर्ने ? भन्ने निर्णय गरिसकेको छैन । सम्बन्धति पक्षबीच सहमति नै कायम नभई निर्माण कार्य थाल्दा त्यसले भविष्यमा फेरि विवाद निम्त्याउने सम्भावना देखिएकोले पहिला आपसी सहमति हुन जरूरी रहेको बडाअध्यक्ष दीपक बर्मा बताउँछन् ।

एउटा जनप्रतिनिधिको हिसावले मैले स्थानीयको राय नलिएर एक्लै आफूले यस बिषयमा निर्णय गर्न नसक्ने अध्यक्ष बर्माले बताएका छन्। यसैले अहिले पनि घण्टाघरको शिलान्यास अन्यौलमा परेको छ । गत बर्षको मंसिर २८ गते शिलान्यास गर्ने दिन तय भएको थियो । तर, अहिलेसम्म शिलान्यासको काम हुन सकेको छैन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको उदासिनता र ढिलासुस्तीका कारण उपमहानगरपालिका बडा नम्बर १८ का स्थानीयसँग सहमति र बहस हुन नसक्दा निर्माणको काम अलपत्र परेको हो । जसका कारण घण्टाघर निर्माण कार्य तत्काल निर्माण हुन नसक्ने आशंका बढेको छ ।

कारकाँदो चोकलाई २०५६ सालदेखि राष्ट्रिय विभूति शंखधर साख्वा चोक बनाउने र त्यहाँ साख्वाको शालिक राख्ने पहल भईरहेको थियो । तर, केही वर्ष यता नेपालगन्ज उद्योग वाणिज्य संघले त्यहाँ घण्टाघर बनाउने निर्णय गर्दै नेपालगन्ज उपमहानगरपालिकासँग अनुमति प्राप्त गरेको संघका अध्यक्ष नन्दलाल बैश्य बताउँछन् ।

तर, साख्वाको शालिक स्थापना गर्ने वा घण्टाघर बनाउने भन्नेमा त्यतिबेला उत्पन्न विवाद अहिले पनि कायम नै देखिएको छ । घण्टाघर बीचमै साख्वाको शालिक राख्ने भन्नेबारे सम्बन्धीत पक्षसँग चलेको छलफल निचोडमा पुग्न सकेको छैन ।

नेवाःपुचः लगायत साख्वा चोक बनाउन पहल गरिरहेका संघ÷संस्थाले घण्टाघर बनेपनि त्यहाँ साख्वाको अस्तित्व पनि स्वीकार्नुपर्ने माग गरेको नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ बताउँछन् । उनीहरुले घण्टाघरको बीचमा साख्वाको शालिक राख्न दिए घण्टाघर निर्माण कार्य अघि बढाउन दिन आफूहरुलाई कुनै आपत्ति नभएको बताएका छन् ।

जसका लागि नेपालगन्ज उद्योग वाणिज्य संघसँग उनीहरूले लिखित सम्झौता चाहेका छन् । तर, संघका पदाधिकारीले साख्वाको शालिक बनाउने बारे लिखित सम्झौता गर्न आनाकानी गरिरहेका छन् ।

यसअघि उद्योग वाणिज्य संघले सबै पक्षको चित्त नबुझाएरै आफूखुसी शिलान्यासको मिति तय गरेर अघि बढेपछि झनै विवाद बढेको थियो । ‘२०५६ सालमै मन्त्रिपरिषद्ले कारकाँदो चोकलाई संखधर साख्वा चोक नामाकरण गर्ने निर्णय गरिसकेको हो । तर, संघले विगतको निर्णय र सहमतिलाई वेवास्ता गरेर अघि बढ्न खोज्दा समस्या भएको संघका सदस्य हरिषचन्द्र श्रेष्ठ बताउँछन् ।

बाणिज्य संघका उपमहासचिव एवम् घण्टाघर निर्माण उपसमिति संयोजक ताराकुमारी रोकायले वडा कार्यालयले सहमति नजनाउँदा घण्टाघर शिलान्यास नसकेको बताएकी छन् ।

उनकाअनुसार सडक डिभिजन कार्यालयले कारकाँदोमा घण्टाघर निर्माण गर्न अनुमति दिइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले घण्टाघर निर्माणका लागि उपमहानगरपालिका सकारात्मक भएपनि स्थानीयको सहमति खोजेर मात्र निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताउँछन् ।

घण्टाघरले नेपालगन्जको छुट्टै पहिचान बनाउने छ, तर स्थानीयको सहमति विना बनाउँदा दीर्घकालिन हुन नसक्ने उनी बताउँछन् ।