नेपालगन्ज: कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार (आज) हरिबोधनी एकादशी मनाइूदै छ । भगवान् विष्णुको पूजाआजासहित व्रत बसेर एकादशी मनाउने गरिन्छ । घरमा रहेका तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर मठभित्रका तुलसी विवाह गरिदिने चलन छ ।
यसदिन व्रत बस्ने व्रतालुले एकछाक चोखो खाई पिूडालु, शख्खरखण्ड, बदाम, फलफूलसमेत सेवन गर्ने चलन छ । एकादशीका दिन भगवान् विष्णु र लक्ष्मी आगमन हुने विश्वाससाथ साँझ तिहारजस्तै दिपावली गरिनेछ। घरमा दियो कलश गणेश थापी नारायणको स्मरण गरी सुखशान्ति र समृद्धिको कामना गर्छन्।
यसक्रममा शंख ध्वनिसहित घण्ट बजाएर भजनकीर्तन र नारायणको नाम स्मरण गर्दै तुलसीको मठलाई नारायण मन्दिर ठानी परिक्रमा गरिन्छ । आफ्नो घरबाहेक अन्य तीन घरका मठमा गई तुलसी पूजा गर्नाले चारै नारायण घुमेसरह हुने विश्वास छ ।
एकादशीका दिन साँझ भजनकीर्तन गर्दै रमाइलो गर्ने परम्परा छ । यसक्रममा ‘एकादशी–एकादशी’ भन्दै भट्याउने गरिन्छ । हरिसयनी एकादशीबाट सुरु चतुरमास पनि हरिबोधनी एकादशीबाट सकिदै छ । चार महिनासम्म समुद्रमा शयन गरेका भगवान् विष्णु यही दिनबाट बैकुण्ठ जाने धार्मिक विश्वास छ ।
तुलसीलाई धार्मिक हिसाबले पनि महत्वपूर्ण वनस्पतिका रूपमा लिइन्छ । धार्मिकसँगै वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति रहेको विज्ञ बताउ“छन् । तुलसीमा धेरै अक्सिजन पाइने हुनाले अन्तिम अवस्थामा पनि तुलसीको मठमा राख्ने गरिएको पाइन्छ ।
त्यस्तै, औषधीय हिसाबले पनि तुलसी महत्वपूर्ण वनस्पति मानिन्छ । तुलसीमा धेरै प्रकारको रोग निवारण गर्ने शक्ति हुने आयुर्वेदका अध्येताले बताएका छन् । तुलसीलाई भगवान् विष्णुको अवतारका रूपमा लिएर पूजा गर्ने परम्परा छ । सत्ययुगमा जालन्धरपत्नी व्रिन्दाले ‘विष्णुलाई झार हुनुपरोस’ भनी सराप दिएकाले विष्णु भगवान् झारको स्वरूप तुलसी भएको उल्लेख छ । पौराणिक कथाअनुसार ‘मुर’ नामक दैत्यको आतंकबाट देवतालाई मुक्ति दिलाउन भगवान् विष्णुले ठूलो संघर्ष गर्नुपरेको थियो ।
मुर दैत्यको संहार गरेकाले विष्णु भगवानलाई ‘मुरारी’ पनि भन्ने गरिन्छ । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मास व्रत सुरु हुने हरिशयनी एकादशी र व्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ । यसै अवसरमा त्रिवेणी रिडी रुदवेणी, रेसुंगा, रामघाट, देवघाटलगायतका स्थानमा स्नान गर्नेको भीड लाग्छ ।
यस्तै हरिबोधनी दिन उपत्यकाका चार नारायण चाँगु, इचंगु, बिसंखु र शेषलगायत देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । ठूलो एकादशीका नामले पनि परिचित यो एकादशीका दिन उपत्यकाबाट उत्तरमा रहेको बुढानीलकण्ठमा पनि भक्तजनको भिड लाग्ने गर्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिनदेखि घर–घरमा तुलसी हवन गर्ने चलन छ ।