भेरी अस्पतालका बिग्रेका लाखौं मूल्यका एम्बुलेन्स । तस्विरः सेतोखरी
नेपालगन्ज : बाँकेमा सरकारी सेतो प्लेट नम्बरका दर्जनौं सवारीसाधन प्रयोगविहीन अवस्थामा छन् । सरकारी कार्यालयको उदासिनताका कारण बाँकेमा दर्जनौं सवारी साधन मर्मत हुन नसक्दा जीर्ण बनिरहेका छन् ।
तीमध्ये केहीको अभिलेख छ । तर, अधिकाशं सरकारी गाडीको अभिलेख समेत पाइँदैन । मोटरसाइकल, एम्बुलेन्स, यात्रा गर्ने गाडीदेखि डोजरसम्म प्रयोगविहीन अवस्था रहेका छन् ।
त्यसरी प्रयोगविहीन अवस्थामा रहेका सामग्रीको अहिलेको नयाँ मूल्य सात करोड ३३ लाख २५ हजार रुपैयाँ पर्न जाने देखिएको छ । गाडीको खरिद मिति भने जिन्सी किताबमै उल्लेख छैन । कतिपय गाडीको खरिद मूल्य तत्कालीन समयमा ४०/४० लाख उल्लेख गरिएको छ । तर, अहिले भने सोही कम्पनीको नयाँ गाडीको मूल्य डेढ÷डेढ करोड पर्ने अनुमान गरिएको छ ।
नम्बर प्लेट र अभिलेख केही छैन । गाडीको वरिपरि लेउ लागेको छ । अन्यन्तै जीर्ण अवस्थामा रहेका छन् । यहाँ दर्जनौं गाडी बिग्रिएको अवस्थामा छ ।
उक्त गाडी कति समयदेखि कार्यालय परिसरमा छन् भन्ने कुनै अभिलेख छैन । तर, समन्वय समिति, नेपालगन्ज उपमहानगरपालिका, भेरी अस्पताल, आन्तरिक राजश्व, भन्सार, लगायतका सरकारी कार्यालयले समेत यस्ता गाडीको उचित व्यवस्थापमा चासो देखाएका छैनन् ।
यसरी कति मुल्य बराबरको सरकारी सम्पति जीर्ण बनेको छ । यसको सैसँग पनि डाटा छैन् । तर, यहाँका स्थानीय तहदेखि अन्य सरकारी कार्यालयका पदाधिकारी र प्रमुख अरूले अनुदान दिएका गाडीबाटै काम चलाउँदै आएका छन् ।
बाँकेका अधिकांश सरकारी कार्यालयका प्रमुखहरू पुराना गाडी मर्मतका लागि प्रदेश र संघीय सरकारबाटै बजेट नआउने भएकोले समस्या भएको बताउँछन् । तत्कालीन जिल्ला विकास समिति अहिले जिल्ला समन्वय समितिमा परिणत भएको छ । तर, प्रत्येक केही वर्षमा नयाँ गाडी अनुदान आउने भएकोले पुराना गाडीहरू मर्मत गरिएको छैन ।
सरकारी अस्पतालमै एम्बुलेन्स छैन भन्दा अचम्म लाग्न सक्छ । तर, भेरी अस्पतालको सन्दर्भमा यो कुनै नौलो र अनौठो विषय होइन । अस्पतालमा बिग्रिएका एम्बुलेन्स प्रदर्शनीमा राखेजस्तै छ । तर, अस्पतालमा बिग्रेका एम्बुलेन्स बन्दैनन् । नयाँ किन्न कसैले चासो दिँदैनन् ।
एम्बुलेन्स ग्राउण्डमा राख्दा सिटहरु बिग्रनुका साथै एम्बुलेन्समै घाँस उम्रिएको छ ती एम्बुलेन्सका कम्पनी पत्ता लाग्न सकेका छैनन् । यसरी थन्काइएका एम्बुलेन्सको खरिद मिति र मूल्यबारे अस्पताल बेखबर छ ।
पहिलेदेखि नै बिग्रेका एम्बुलेन्स रहेको र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया शुरू नभएको अस्पतालका मेडिकल सुपेरिटेण्डन रूपानन्द अधिकारी बताउँछन् । तर, अस्पतालको आफ्नै एम्बुलेन्स नभए पनि अन्य संस्थाका एम्बुलेन्सहरूले सेवा दिइरहेको हुँदा बिरामीहरू मर्कामो नपरेको उनको जिकिर छ ।
आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलाम बिक्रीसम्बन्धी व्यवस्था गरिएको छ । जसमा काम नलाग्ने देखिएका मालसामानहरू लिलाम बिक्री गर्ने, मर्मत गर्नुपर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था गरिएको छ ।
कुनै मेशिन, औजार तथा सवारीसाधनको स्पेयरपार्ट, पुर्जाको अवस्था तथा मर्मत सम्भार तथा सञ्चालनमा बढी खर्च लाग्ने तथा वर्तमान अवस्थामा अनुपयोगी भनी मेकानिकल प्राविधिकबाट प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । त्यसको मूल्य हेरीकन कार्यालय प्रमुखले लिलाम गर्ने सूचना प्रकाशित गरी लिलाम गर्न पाउने संवैधानिक व्यवस्था छ ।
सोही ऐनको उपनियम ७ मा एक लाखभन्दा माथिको सामग्री लिलाम बिक्रीको लागि १५ दिनको सूचना जारी गर्नुपर्ने छ । जसमा मालसामानको विवरण, न्यूनतम मूल्य, लिलाम बढबढ हुने स्थान, धरौटी राख्नुपर्ने अंक, लिलाम गरेको सामग्री उठाई लैजानुपर्ने अवधि लगायतका कुराहरू सूचनामा उल्लेख हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ ।
तर, उक्त सरकारी ऐनको प्रयोगरी यसरी जीर्ण बनेका सरकारी सम्पतिको लिलाम बढाबढमा समेत यहाँका सरकारी कार्यालय उदासिन छन् । यसमा नियमनकारी निकाय बाँके प्रशासन समेत अनबिज्ञता जनाउँछ ।