नेपाल–भारत सीमा बन्द, भारतमा कडा सुरक्षा

भारतमा राम जन्मभूमिबारे आज अन्तिम फैसला हुदै


नेपाल–भारत सीमा बन्द, भारतमा कडा सुरक्षा

नेपालगन्ज: नेपाल भारत सीमा नाका जमुनाहा सिल गरिएकोछ । भारतमा विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्ने भएपछि सुरक्षा सर्तकता अपनाउदै नेपाल भारत नाका सिल गरिएको हो ।

भारतको सर्वोच्च अदालतमा ४० दिन लामो बहस सकिएपछि आज सो विवादमाथि अन्तिम फैसला हुनेछ । अन्तिम फैसला हुने भएपछि भारतको उत्तर प्रदेश पूर्णरुपमा बन्द गरिएको छ भने नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहा सिल गरिएको छ ।

हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यास्थित विवादास्पद सो भूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । हिन्दूले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् । उक्त भूमि विवादमा आज भारतको सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने बताइएको छ ।

यही विषयले हिन्दू र मुस्लिमबीच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ । आज अन्तिम फैसला हुने भएपछि उत्तर प्रदेशमा हिन्दू र मुस्लिम समुदायविच सम्प्रदायीक हिंसा भड्किन सक्ने आँकलन गर्दै भारत सरकारले उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा बनाएको हो । जसका लागि नेपाल–भारत सीमा नाका जुमनाहा शनिबार विहान १ बजेदेखि पूर्णरुपमा सिल गरिएको छ ।

सन् १९८९ मा भाजपा राष्ट्रिय परिषद् बैठकले संसदमा कानून ल्याएर भए पनि राम मन्दिर निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । ६ डिसेम्बर १९९२ मा भाजपा निकट हिन्दू समर्थकहरूले अयोध्यास्थित बाबरी मस्जिद भत्काएपछि राम जन्मभूमि सम्बन्धी विवाद चुलिएको थियो । त्यसबेला भड्किएको हिंसामा सयौंको मृत्यु हुनुका साथै ठूलो धनजनको समेत क्षति भएको थियो ।

करिब २ दशमलब ७७ एकड जमिनका लागि चलिरहेको यो विवाद भारतको इतिहासकै सबैभन्दा लामो विवाद हो । थोरै जमिन भए पनि यो साधारण जमिन होइन । यही पौने तीन एकड जमिनमा हिन्दू र मुस्लिम समाजको आस्था जोडिएको छ । यो मुद्दा दशकौंदेखि अदालतमा रहेको थियो । १६ अक्टोबरमा ४० दिन लामो सुनुवाइ सकिएसँगै उक्त मुद्दामाथि आज अन्तिम फैसला हुँदैछ ।

हिन्दू र मुस्लिम दुवै समाजले यो मुद्दालाई चनाखोका साथ हेरिरहेको र फैसला आएलगत्तै हिंसा भड्किन सक्ने आँकलन गरेर भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने उत्तर प्रदेशमा आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) रुपैडिहा थानाका प्रहरी निरिक्षक मनिषकुमार पाण्डेले सेतोखरीलाई जानकारी दिए ।

भारतको सर्वोच्च अदालतको इतिहासमा नै दोस्रो सबैभन्दा लामो सुनुवाइ भएको र भारतको इतिहासमै सबैभन्दा लामो समय चलेको मुद्दा यही हो ।

सन् २०१० मा इलाहाबाद उच्च अदालतले विवादास्पद भूमिलाई रामलीला (श्रीरामको बाल रुप), निर्मोही अखाडे र मुस्लिम पवित्र भूमिकारुपमा तीन भाग लगाउने फैसलाविरुद्ध सर्वोच्चमा पुनः एक दर्जनभन्दा बढी रिट दायर भएका थिए । ती सबै रिटहरुलाई भारतको सर्वोच्च अदालतले एउटै इजलासमा हेरिरहेको छ । मुद्दामा सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जल गोगोईले नेतृत्व गरिरहेका छन् ।

यस्तै नेपाल–भारत सीमा नाका सील भएपछि बाँके प्रहरीले पनि सावधानी अपनाएकोछ । ‘आकस्मिक अवस्थाबाहेक आवतजावत पूर्णरुपमा बन्द गरिएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले सेतोखरीलाई भने, ‘आज विहान १ बजेदेखि नाका सिल गरिएको छ ।’ एका–एक नाका बन्द भएपछि भारतबाट आउने र भारततर्फ जाने सबै सवारीसाधन तथा सर्वसाधरण सीमामै रोकिएका छन् । यस्तै भारतबाट नेपाल आउने पैदल यात्रुलाई नेपाल प्रवेश गर्न दिइएको समेत प्रहरी नायव निरीक्षक रिजालले बताए ।

भारतको पुरातत्व सर्वेक्षणको खोजबाट मस्जिदको मुनि मन्दिर भएको दाबी गरिएको छ । रामले जुन किल्ला बनाएका थिए, त्यहाँ बाबरका सेनापति मिर बाकीले १५२८ मा बाबरी मस्जिद भएको उल्लेख गरिएको छ । सर्वोच्चमा तल्लो अदालतमा पेस गरिएका केही दस्तावेजको हवाला दिँदै वकिल सुशीलकुमार जैनले राम मन्दिरको जन्मभूमिमा निर्मोही अखाडेको हक रहेको र सो भूमि उनलाई दिनुपर्ने दाबी गरेका छन् । ‘सयौं वर्षदेखि विवादित जमिनभित्रको आँगन र राम जन्मस्थान निर्मोही अखाडेको कब्जा थियो,’ उनले अदालतमा भने ।

झाँसीकी रानी लक्ष्मीबाईको मृत्युभन्दा अघि उनको सुरक्षा निर्मोही अखाडेले नै गर्दथे । जुन स्थानलाई आज जन्मस्थान भनिन्छ, त्यहाँ निर्मोही अखाडेकै कब्जा छ । सन् १९३२ पछि मन्दिरको गेटभन्दा अघि मुस्लिमलाई जान निषेध थियो । केबल हिन्दूमात्रै यो स्थानमा जान पाउँथे । त्यसैले, विवादित जमिनको अधिकार निर्मोही अखाडेको नै हो । जैनका अनुसार विवादित जमिनमाथि हिन्दूले सन् १९३२ मा नै दाबी गरेका थिए भने मुस्लिमले सन् १९६२ मा मात्र आफ्नो दाबी पेस गरेका थिए ।