नेपालगन्ज: श्री एयरलाइन्सको दादागिरीका कारण यात्रुहरुले सास्ती भोग्नु परेकोछ । नेपालगन्जबाट काठमाडौंका लागि अन्तिम उडानको तयारीमा रहेको श्री एयरलाइन्सले यात्रुलाई पूर्वजानकारी नदिएर रातभर विमानस्थलमै अलपत्र पार्दा यात्रुले सास्ती भोग्नु परेको हो ।
शुक्रबार साँझ ६ बजे उडान समय दिएर टिकट काटेका यात्रुलाई राती अबेर १२ बजेसम्म विमानस्थलमै राखियो । जसका कारण नेपालगन्ज विमानस्थलमा ७० जना यात्रुहरुले कठ्यांग्रिदो रात बिताउन बाध्य भए ।
नेपालको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको यस्तो म्भीर दादागिरीकै कारण ७० जना यात्रु शुक्रबार रातभर विमानस्थलमा अलपत्र परे । यात्रु लालबहादुर जिसीले जानकारी दिँदै भने विमानस्थलमा यात्रुलाई जानकारी नै नदिएर अलपत्र पारियो ।
उनले १२ बजे काठमाडौं उडान गर्ने नाटक रचेर पुनः विमानस्थलमै यात्रुलाई अलपत्र पारिएको बताए । ‘६ बजे काठमाडौं उडान गर्ने भनेर ५ बजे नै विमानस्थलमा पुगेका यात्रुलाई राती १२ बजे विमानमा चढाएको १० मिनेटमै काठमाडौं विमानस्थल बन्द भयो भन्दै नेपालगन्ज विमानस्थलमै अलपत्र पारियो,’ जिसीले बताए ।
श्री एयरलाइन्सले यात्रुलाई विमानस्थलमै अलपत्र पारेर भोकभोकै राखेको यात्रुको गुनासो छ । शुक्रबार उडान नभरेको श्री एरलाइन्सले शनिबार विहान साढे ९ बजे उडान भरेको हो ।
यस्तै शनिबार साढे ९ बजे नेपालगन्जबाट काठमाण्डौं उडान भर्ने भनि तयार भएको श्री एयरलाईन्सको जहाज करिब एक घण्टा ढिलो साढे १० बजे मात्र उडान भरेको बुझिएकोछ ।