भारतीय सर्वोच्च अदालतको फैसला: ‘अयोध्याको विवादित जग्गा हिन्दुको’


भारतीय सर्वोच्च अदालतको फैसला: ‘अयोध्याको विवादित जग्गा हिन्दुको’

Photo: Google

नेपालगन्ज:लामो समयदेखि विवादित बन्दै आएको भारतको अयोध्या स्थित जग्गाको अन्तिम फैसला भएकोछ । वर्षौंदेखिको विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले सुनाएको यो फैसलालाई ऐतिहासिक मानिएको छ ।

भारतको सर्वोच्च अदालते शनिबार अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएपछि विवाद टलेको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने लामो समयदेखि विवाद चल्दै आएको थियो ।

भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा सर्वसम्मतीले फैसला सुनाएको हो ।

सर्वोच्च अदातले मुस्लिम समुदायलाई वैकल्पिक जग्गा प्रदान गर्न समेत निर्देशन दिएकोछ । सर्वोच्च अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे एक कार्ययोजना बनाउन निर्देशन दिदै सो क्षेत्रमा ट्रष्टमार्फत मन्दिर बनाउन अदालतले निर्देशन दिएको हो ।

मस्जिद बनाउनका लागि मुस्लिम समुदायलाई पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले केन्द्रिय सरकारलाई आदेश दिएको छ ।

अयोध्यालाई हिन्दुहरुले मर्यादा पुरुषोत्तम रामको जन्मभूमि मान्छन् । त्यही अयोध्याबाट हरेक वर्ष जनकपुरको रामजानकी मन्दिरमा मनाइने विवाह पञ्चमी महोत्सवमा रामका जन्ती बनेर तिर्थालुहरु आउँछन् र बिहेको विधि गरेर जनककी छोरी सीतालाई अयोध्या लैजान्छन् । अघिल्लो वर्ष त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका थिए ।

यस्तो थियो अयोध्या विवाद ?
हिन्दुहरुको आस्थाको केन्द्र मानिने भारतको अयोध्या स्थित सो जमिनमा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिदै आएको थियो । तर, भारतको सर्वोच्च अदालतले शनिबार सुनाएको अन्तिम फैसलाबाट विवादित उक्त स्थान हिन्दुहरुकै पक्षमा निर्णय सुनाएपछि लामो समयदेखि चल्दै आएको विवाद साम्य भएकोछ ।

हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर, मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर, मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् ।

यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भड्किएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गएको थियो ।

हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल छाएको थियो । यो मुद्दा पहिले पनि अदालत नपुगको भने होइन ।

भारतको इलाहाबाद उच्च अदालतले अयोध्याको विवादित जमिन यसअघि तीन बराबर भागमा बाँड्न फैसला गरेको थियो । अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को एक भाग निर्मोही अखडालाई दिनुपर्ने आदेश सुनाएको थियो ।

तर, त्यसलाई तीनै पक्षले अस्वीकार गर्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले ४० दिन लगाएर सो विवादित जग्गामा हिन्दुहरुको हक लाग्ने फैसला सुनाएको हो ।

यसैबीच भारतमा विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्ने भएपछि सुरक्षा सर्तकता अपनाउदै नेपाल–भारत नाका सिल गरिएको थियो ।

अन्तिम फैसला हुने भएपछि भारतको उत्तर प्रदेश पूर्णरुपमा बन्द गरिएको छ भने नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहा सिल गरिएको छ ।

यही विषयले हिन्दू र मुस्लिमबीच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ । आज अन्तिम फैसला हुने भएपछि उत्तर प्रदेशमा हिन्दू र मुस्लिम समुदायविच सम्प्रदायीक हिंसा भड्किन सक्ने आँकलन गर्दै भारत सरकारले उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा बनाएको हो । जसका लागि नेपाल–भारत सीमा नाका जुमनाहा शनिबार विहान १ बजेदेखि पूर्णरुपमा सिल गरिएको छ ।