कोठी सञ्चालकका ‘मोस्ट वान्टेड’

चेलिबेटी बेचबिखनबिरुद्धका अभियन्ता


कोठी सञ्चालकका ‘मोस्ट वान्टेड’

कुमार श्रेष्ठ
नेपालगन्ज: ‘जुन कामको लागि आएको हो। त्यही गरेर जानु’, लुगा खोल्दै युवतीले रिसाउँदै भनिन्, ‘कुरा गर्दिन। थाहा पाए भने पिट्छन् ।’
कोठी (वेश्यालय) मा केटाहरु किन आउँछन? उनलाई सम्झाउनु पर्दैनथ्यो । बिहे गर्छु भनेर प्रेमीले नै उनलाई कोठीसम्म र्पुयाएको थियो। विश्वास शब्दप्रति उनको अविश्वास थियो ।

ग्राहक बनेर आएको व्यक्ति उनीसँग कुरा गर्न चाहन्थ्यो। तर उनी कुरा गर्न ईच्छुक थिइनन् ।

पहिलो पटक कोठीको ‘रेकी’ गर्न पुगेका माईती नेपालका केशव कोइराला युवतीसँग कुरा गर्न खोज्दै थिए । यो कुरा बुझ्न उनलाई केही समय लाग्यो । त्यतिबेलासम्म उनले कोइरालालाई कैयौँ गाली दिइसकेकी थिइन् । कोइराला भन्छन्, ‘बाफरे ! युवतीबाट त्यस्तो गाली ! म त सुन्दा नै झस्किएँ। मलाई धेरै नमज्जा लाग्यो । तर, मिसनमा गएको थिएँ। म झुकेँ ।’

केशवलाई माइती नेपाल प्रवेश गराउँदा अनुराधा कोइरालाले भनेकी थिइन्, ‘जागिर खानमात्रै आउनुभएको हो भने मेरो भन्नु केही छैन, साँच्चै नै मेरो उद्देश्य अनुरुप सेवा गर्न आएको भए पीडितलाई आफ्नो सदस्य सरह हेर्नुस् र काम गर्नुस् ।’

उनले ‘बहिनी’ भनेर शीर निहुराएपछि युवती कुरा गर्न तयार भइन् ।

दिल्लीको जीवीरोडको ५६ नम्बर कोठीमा कुरा गर्न सजिलो भने थिएन । कोठामा स–साना खाट थिए । पर्दाको बार थियो। एकदमै होसियारीपूर्वक कुरा गर्नुपर्थ्यो। कुरा गरेको घरवाली (कोठी सञ्चालक)ले थाहा पाएको खण्डमा ‘ग्राहक’को ज्यानसमेत जोखिममा पर्न सक्थ्यो ।
मुश्किलले पाँच मिनेट गफ भयो । युवतीले केही सूचना दिइन् । कोइरालाले थोरै भएपनि केही जानकारी पाए। उनलाई लाग्यो, ‘पहिलो मिसन सफल भयो ।’

कोइराला निस्किदै गर्दा युवतीले भनिन्, ‘यहाँ सबै शोषण गर्न आउँछन् । तपाई जस्तो कोही आउँदैन । त्यसैले हामीलाई बोल्न मन लाग्दैन । घरवालीले पनि बोल्न मनाही गरेकी छ ।’

त्यसपछि उनी कोठीबाट निस्किए । तल झर्दै गर्दा उनलाई डर लाग्यो । उनले सुनेका थिए, ‘घरवालीले गुण्डा पालेका हुन्छन्। उनीहरुले जे पनि गर्न सक्छन् ।’

२०५९ को जेठ महिना, दिल्लीमा अत्यधिक गर्मी थियो । ‘रेकी’ गरेको भोलिपल्ट कोइरालाले ‘स्टप दिल्ली’ नामक संस्थासँग मिलेर कोठीमा छापा मारे । त्यहाँबाट आठ जना नेपाली बालिकालाई बाहिर निकालियो ।

२०६२ असार । उत्तरप्रदेशको आग्राको कवाडीबजारको जरिनाको कोठी ।

माइती नेपालमा नुवाकोटकी एक बालिकाको खोजतलासका लागि निवेदन परेको थियो । निवेदनलाई पछ्याउँदै कोइराला कवाडीबजार पुगे । त्यतिन्जेल ‘संकल्प’ नामक संस्थाका अतुल शर्माले कोठीमा रेकी गरिसकेका थिए ।

कोइराला पहिले स्थानीय प्रहरी थाना पुगे । त्यसो त स्थानीय प्रहरीसँग सहकार्य गर्दा सूचना चुहिने डर हुन्थ्यो । केही प्रहरी कोठी सञ्चालकसँग मिलेका हुन्थे । यद्यपी आलटाल गर्दै प्रहरी छापा मार्न तयार भयो ।

कोठी सञ्चालकले ती बालिकालाई लुकाउन नपाउन् भनेर उनले एकजनालाई ‘ग्राहक’ बनाएर पठाएका थिए । छापा मार्दासम्म बालिकालाई ‘बिजी’ राख्नु थियो ।

छापा मारियो । शुरुमा बालिका बाहिर निस्किन मानिनन्। उनकी छोरी रहिछन् । कोठीवालीले लोहनी भन्ने ठाउँमा छोरीलाई राखेका रहेछन् । उनकी बहिनी पनि रहिछन्, दिल्लीको जीवीरोडमा ।

‘धन्दा’ गर्न नमान्दा उनकी छोरीलाई यातना दिइने रहेछ । छोरीलाई मारिदिने धम्की दिँदा रहेछन्’, कोइरालाले भने ।

शुरुमा उनले ‘म नेपाली होइन’ भनिन् । कोइरालाले उनका बुवाले लेखेको निवेदन र फोटो देखाएर ‘तिम्री छोरीको पनि उद्धार गर्छौँ’ भनेपछि मात्र उनले भनिन्, ‘हो र दाइ !’

त्यतिबेलासम्म कोठी सञ्चालक झगडा गर्न आइसकेकी थिइन् । हात हालाहालको स्थिति हुन थालिसकेको थियो । त्यहीबेला पत्रकारले ‘प्रहरीले के हेरेर बसेको छ ? यहाँको सबै लाइभ भइरहेको छ ।’ भनेपछि बल्ल प्रहरी सक्रिय भयो । साँझसम्म आमा र छोरी दुवैको सकुशल उद्धार भयो ।
कोइराला एउटा गाडी रिजर्भ गरे त्यहाँबाट आमा–छोरीलाई लिएर नेपालगञ्जका लागि निस्किए । त्यहीबेला थाना इन्चार्जले फोन गरेर भने, ‘कहाँ हो?’ उनले सही ‘लोकेशन’ बताएनन्। प्रहरीसँग साँचो बोल्दा घरवालीसम्म सूचना पुग्ने डर थियो । कोठी सञ्चालकका गुण्डा पछि लाग्ने सम्भावना हुन्थ्यो । उनीहरुले जे पनि गर्न सक्थे ।

कोठीमा पुग्नुअघि यी बालिका काठमाडौंको एउटा गलैँचा कारखानामा काम गर्थिन् । मामाको छोराले भारतमा काम गर्दा धेरै पैसा पाइन्छ भनेर उनलाई बेचेका थिए ।

२०७४ चैत्र २१ गते । आग्राको काश्मिरीबजार । माइती नेपालको टीमले स्थानीय प्रहरीलाई खबर नगरेर ‘माथिल्लो’ तहबाट प्रहरीको टीम मगाएको थयो ।

छापा मार्नुअघि नै सूचना चुहिएर कोठी सञ्चालकसम्म पुगिसकेछ । किशोरीहरु लुकाइएको रहेछ । प्रहरीसहितको टोली छापा मार्न भित्र पस्दा त त्यहाँ कोही पनि थिएन ।

सबैलाई एउटा कोठामा थुनेर बाहिरबाट ताल्चा लगाइएको थियो। ताला फोडियो ।

कोठाभित्र रहेको दराजको कुनामा ९ जना बालिका कोचिएको थियो। उजुरी बनाउँदा बनाउँदै रातीको डेढ बज्यो । बस्ने व्यवस्था गरिएको होटलमा जान सकिएन । माइती नेपालको टोली मध्यरातमा अर्को होटलमा गएर बास बस्यो । उद्धार गरिएका बालिकाहरुलाई सरकारी गृहमा राखेर कोइरालासहितको माइती नेपालको टोली फर्कियो । केही समयपछि बालिकाहरु पनि फर्किए ।

२०७४ माघमा भारतकै मेरठमा छापा मारियो। त्यहाँ पनि अन्तिम समयमा सूचना चुहियो । पछाडीको झ्यालमा सिडी राखेर सबैलाई अर्को घरमा हामफल्न लगाइयो । भाग्दै गर्दा एकजनालाई उद्धार टोलीले नियन्त्रणमा लियो ।

२०७५ चैत्र ४ गते । दिल्लीको जीवीरोडको ५६, ५७ र ६० नम्बर कोठीमा छापा मारियो । नेपालगञ्जबाट कोइराला र गायत्री रिमाल गएका थिए ।
कोइरालाले स्थानीय प्रहरीलाई खबर नगरेर ‘एन्टी ह्यूमन ट्राफिकिङ युनिट’ को टोलीलाई बोलाए । यो प्रहरी टोली जीवीरोडदेखि टाढाको थियो । बिहान ७ बजे छापा मारियो । साँझमा भीडभाड हुने भएकाले बिहानको समय रोजिएको थियो । अति नै गोप्य तरिकाले छापा मारेर त्यहाँबाट एक बच्चासहित तीन जनालाई बाहिर निकालियो ।

तर, उमेर पुगेकाहरु बाहिर निस्किन मानेनन् । उद्धार गरेका तीन जनालाई नारी उत्थानमा राखेर कोइराला नेपालगञ्ज फर्किए ।

सजिलो छैन छापा मार्न
भारतका कोठीमा छापा मार्न सजिलो छैन । त्यसमा पनि दिल्लीको जीवीरोडमा रहेका कोठी सञ्चालकको ‘शक्तिकेन्द्र’ सँग पहुँच रहने गर्दछ । घरवालीले स्थानीय गुण्डाहरु पालेका हुन्छन् । अवैध कोठी चल्ने कुरा थाहा भएपनि सरकार आँखा चिम्लिन्छ ।

कोइराला मेरठ र आग्राका कोठीमा पटक–पटक पुगेका छन् । कोठी सञ्चालकहरुले कोइरालालाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेका छन् ।
कोठीमात्रै होइन, तेस्रो मुलुक लैजानका लागि भारतका विभिन्न ठाउँमा बन्धक बनाएका नेपाली चेलीको पनि उद्धार गरिएको छ ।

‘अर्काको देशमा न कुनै सरकारी सम्झौता, न त नीति नियम । ज्यानकै बाजी लगाएर कोठीमा छिर्नुपर्छ’, कोइराला भन्छन्, ‘मेरठ, आग्रा, दिल्लीमा हिड्दा भेष बदलेर हिड्नु पर्छ । यी ठाउँमा मलाई निशानामा राखिएको छ ।’

छापा मार्न गएको बेलामा होटलमा बस्दा कोइरालालाई एउटै तनाव हुन्छ, कहीँ घरवालीको मान्छेले आक्रमण गर्ने त होइनन् ? उनी बाटोमा पटक–पटक अटो (रिक्सा) परिवर्तन गर्दै हिँड्छन् । कैयौँ पटक बुकिङ गरेको होटलमा नगएर धेरै पटक नयाँ ठाउँमा गएर बसेका छन् ।
उनी भन्छन्,’कहिलेकाहीँ त उनलाई लाग्छ, मेरा पनि बालबच्चा छन् । कतिञ्जेलसम्म ज्यान जोखिममा पारिरहने ?’

निशुल्क जाहेरी लेख्दालेख्दै जागिर

१८ वर्षअघि बीएल पढ्दै गर्दा बर्दियाका कोइरालाले माइती नेपालमा स्रोत व्यक्तिको रुपमा काम गर्न शुरु गरे । स्रोत व्यक्तिसँगै उनको काम भनेको निःशुल्क जाहेरी लेख्ने थियो । त्यतिबेला उनी अधिवक्ता थिए ।

संघ संस्थाप्रति रुची राख्ने कोइरालाले पीडितलाई भेट्ने र जाहेरी लेख्ने गरिरहेका थिए । यही बेलामा बाँकेकै एक युवतीको जाहेरी लेखे । ती युवतीको कुरा सुनेपछि उनले त्यसपछि यही क्षेत्रमा काम गर्ने निधो गरे । माइती नेपालले उनलाई कञ्चनपुरको संयोजक बनाएर पठायो ।
२०६१ मा उनी नेपालगन्जको कार्यक्रम संयोजक भएर आए । त्यतिवेलादेखि कोइराला निरन्तर नेपालगञ्चमा बसेर काम गरिरहेका छन् ।
माइती नेपालले बेचबिखनविरुद्ध रोकथाम, उद्धार, आवास तथा परामर्श, कानूनी सेवा, स्वास्थ्य उपचार र आवश्यकता अनुसार सीपमूलक तालिम र पुनर्स्थापनामा काम गरिरहेको छ ।

नाकामा कडा निगरानी
मानव बेचबिखन नियन्त्रणका लागि नेपालगञ्ज नाकामा माइती नेपालले निगरानी गर्दै आएको छ । सन् २००२ देखि अहिलेसम्म ६ हजार ४ सय ४२ जनालाई नाकाबाट फिर्ता गरिएको कोइराला बताउँछन् ।

सरकारी निकायमा नगएर मानिसहरु आफन्तको खोजतलासको लागि माइती नेपालमा आउने गरेको कोइराला बताउँछन् । ‘हामीप्रतिको विश्वासले गर्दा यस्तो भइरहेको छ’, उनी भन्छन्,’सन् २००२ मा आठ वटा खोजतलासको निवेदन परेको माइती नेपाल, नेपालगन्जमा २०१८ मा ८ सय ७५ वटा निवेदन परेका थिए ।

अहिलेसम्म ५ हजार एक सय ९३ खोजतलासको निवेदन परेकोमा ७ सय ५८ जना फेला परेका छन् ।’

माइती नेपाल, नेपालगन्जको तथ्यांक अनुसार बाँके, बर्दिया, दाङ र सुर्खेतका महिला तथा बालबालिका बेचबिखनको उच्च जोखिममा छन् ।
पछिल्लो दिनमा परिवारको साथ लागेर भारतको सिम्ला, कालापहाड पुगेका पहाडी जिल्लाका महिलाहरु पनि जोखिममा परेका छन् । सामाजिक सञ्चाल र फोनमा माया प्रेम गाँसेर कोठीमा पु¥याउने गरेका घटना बढ्दै गएका छन् ।