File Photo
नेपालगन्ज: नेपाल–भारत सीमा खोलिएकोछ । भारतको उत्तरप्रदेश स्थित अयोध्याको जग्गा विवादका विषयमा शनिबार सर्वोच्चले फैसला सुनाउने भएपछि नेपाल–भारत नाका सील गरिएको थियो ।
शनिबार विहान १ बजेदेखि ‘सील’ गरिएको नेपाल–भारत नाका आईतबार दिउँसोदेखि पुनः सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले आधिकारिक रुपमा जानकारी नगरेपनि नाका सुचारु भएको जनाए ।
अयोध्याको विवादित जग्गाका विषयमा भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आकलन गर्दै नेपालगन्ज नाका सील गरिएको थियो ।
भारतीय पक्षले नेपाली अधिकारीलाई थाहा नै नदिई एक्कासी नाका सील गरेको थियो । उसले त्यसैगरी सुचारु गरेको छ । नाका सील गरेपनि भारतीय अधिकारीले एम्बुलेन्स भने जान दिएका थिए ।
भारतीय सुरक्षाकर्मीले आईतबार सीमा पूर्णपमा खोलेका थिएनन् । विहानैदेखि अत्यावश्यक कामका लागि जान दिएको थियो । कामका लागि भारत जान थालेका धेरै मानिसहरु नेपालगन्ज नाकामा अलपत्र परेपछि भारतीय पक्षले उनीहरुलाई विहानैदेखि जान दिएता पनि नाका खोलेको थिएन ।
नाका सील हुदाँ नेपालगन्जमा दशैं र तिहार लगत्तै मौसमी कामका लागि भारत जानेको भिड लागेको थियो ।