आदर्श माविको अल्टिमेटमः ३० दिनभित्र जग्गा खाली गर्नु


आदर्श माविको अल्टिमेटमः ३० दिनभित्र जग्गा खाली गर्नु

नेपालगन्ज: आदर्श मावि राझाँले अतिक्रमण गरिएको जमिन छोड्न ३० दिने अल्टिमेटम दिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझामा रहेको आदर्श माविको जग्गा अतिक्रमण गरेर बसेकालाई विद्यालयले यस्तो अल्टिमेटम दिएको हो ।

यसअघि कैयौपटक विद्यालयका पदाधिकारीहरु आफ्नो जग्गा भन्दै जाँदा सुकुम्बासीहरुले लखेट्दै आएका थिए । विद्यालयले आफ्नो बताइरहेको जग्गामा द्वन्द्वकालमा बिस्थापित भएर आएकाहरु बसेपछि लफडा हुँदै आएको छ । केही समय शान्त भएको विद्यालय र सुकुम्बासीबीच यो लफडा पुनः बल्झिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, स्थित गायत्रीनगरको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह ७ कठ्ठा १४ धुर जग्गा अहिले पनि सुकुम्बासीले अतिक्रमण गरेर आफ्नो कब्जामा लिएका छन् । त्यस्तै विद्यालयको गनापुरमा रहेको कित्ता नं. ४५ को एक विवाह ११ कठ्ठा र ४९ नम्बर कित्ताको १२ कठ्ठा १५ धुर जग्गा अहिले पनि अतिक्रमणमै परेको छ ।

विद्यालयको नाममा लालपूर्जा भए पनि द्वन्द्वकालमा बसेकाहरुले अतिक्रमण छोड्न मानिरहेका छैनन् । सुकुम्बासीले अटेरी गरेपछि विद्यालयले जग्गा खाली गर्न पुनः सार्वजनीक सूचना जारी गर्दै ३० दिनको अल्टिमेटम दिएको हो ।

‘सुकुम्बासीका नाममा केही व्यक्तिहरुले घर, टहरा बनाई जग्गा अतिक्रमण गरेर बसेका छन्,’ प्रधानाध्यापक प्रकाश आचार्य भने, ‘जग्गा अतिक्रमण गरेर बसेका कारण विद्यालयको भौतिक एवं सर्वपक्षीय विकासमा समस्या पैदा भएको छ ।’

विद्यालय व्यवस्थापन समितिको कात्तिक २० गतेको निर्णय अनुसार कार्तिक २४ गतेदेखि लागु हुने गरी ३० दिने सूचना जारी गरिएको प्रअ आचार्यले बताए । उनका अनुसार तोकिएको अवधिभित्र पनि जग्गा खाली नगरेर अटेरी गरेमा प्रचलित कानून बमोजिम विद्यालयले कारबाही अघि बढाउने भएको छ ।

विद्यालयको नाममा लालपूर्जा भए पनि द्वन्द्वकालमा बसेकाहरुले अतिक्रमण छोड्न नमानेको प्रअ आचार्य बताउँछन् । २०७१ सालको सर्वेक्षणअनुसार विद्यालयको जग्गामा ७१ घरधुरी रहेका थिए । तीमध्ये १७ घरधुरीलाई गत वर्ष वडा कार्यालयको पहलमा अन्यत्रै स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका १७ घरधुरीले समेत हालसम्म अतिक्रमित जग्गा छाड्न नमानेको प्रअ आचार्यको भनाई छ ।

उनीहरुसँग जग्गाको कुनै प्रमाण नभए पनि अतिक्रमण हटाउन नसकिएको प्रअ आचार्यले बताए । २००९ सालमा घरगोठबाट शुरु भएको विद्यालयले २०१६ सालमा स्वीकृति पाएको थियो । विद्यालय बनाउन महत्वपूर्ण भूमिका खेलेका राममिलन बर्माले नै गाउँ पञ्चायत अध्यक्ष हुँदा २०३६ सालमा उक्त ऐलानी जग्गा विद्यालयलाई दिएका थिए ।त्योसहित विद्यालयको नाममा नौ विगाह १८ कठ्ठा ५ धुर जग्गा दर्ता छ ।

विद्यालयको मुख्य भवन राँझाचोकमै छ । त्यहाँ साँघुरो भएपछि केही संरचना २०४४ सालमा गायत्रीनगरमा बनाइएको थियो । २०५० सालमा ती संरचना चोरी भए । त्यसपछि विद्यालय पुरै चोककै भवनमा सीमित रह्यो ।

सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ठाउँबाट आएका मानिसहरु खाली जग्गा देखेर त्यही बस्न थाले । बाँकेकै पुरानो विद्यालयहरुको लिष्टमा पर्ने आदर्श माविले मल्टिपल क्याम्पसको अवधारणा अघि सारेको छ । जग्गाजति सुकुम्बासीले अतिक्रमण गरेपछि सफल हुन नसकेको प्रअ आचार्यले बताए ।

गत वर्ष आदर्श मावि, राँझाले गायत्रीनगरस्थित विद्यालयको संरचना रहेको ठाउँ नजिकको खाली जग्गामा खेलकुद मैदान गराउन डोजर लिएर गयो । वरिपरि बसेका सुकुम्बासीले त्यहाँ खेलकुद मैदान बनाउन दिएनन् । टोली काम नगरी फर्कियो ।