कोहलपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त नगर’


कोहलपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त नगर’

नेपालगन्ज: कोहलपुर नगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ । बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर नगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिकामा सोमबार आयोजित एक कार्यक्रममा ‘सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका’ घोषणा गरिएको छ । निलसागर आश्रम नेपालगन्जको समन्वय तथा सहजिकरणमा कोहलपुर नगरपालिकालाई सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकहरुमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा कुनै पनि मनोसामाजिक अवस्थाका मानिसहरु नदेखिएकाले कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको नगर प्रमुख लूट बहादुर रावतले बताए ।

उनले भने–‘पाँच नम्बर प्रदेश सरकारले यो प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने घोषणा गरिसकेकाले कोहलपुर नगरपालिकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा अभियानलाई सार्थकता दिएको हो ।’
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीले ‘सहयोगापेक्षी, वेसहारा, अभिभावकविहीन सडक मानवमुक्त’ नगर घोषणासँगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताईन । बाँकेको खजुरा गाँउपालिकालाई यसअघि सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएकोछ ।

नगरपालिकाको रुपमा कोहलपुर नगरपालिका देशभरमै पहिलो सडक मानवमुक्त नगरपालिका भएको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारुले बताईन । कोहलपुर नगरपालिकाले शारीरिक, मानसिक, बौद्धिक तथा पारिवारीक कारणबाट कुनै पनि बालवालिका तथा बृद्धबृद्धा सडकमा बस्नुपर्ने अवस्था सृजना नहोस भनेरै कोहलपुरलाई सडक मानबमुक्त नगरपालिका घोषणा गरीएको हो ।

निल सागरले नै कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणामा सहजीकरण गरेको हो । कोहलपुर नगर भित्र रहेका ७५ भन्दा बढि सडक मानवहरुलाई निलसागर सेवा आश्रममा राखिएको छ ।

२०८२ साल भित्र पुरै नेपाललाई नै सहयोगापेक्षी सडकमानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्य बोकी २०६९ भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट यो अभियान सुरुवात भएको हो ।

मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्लालाई देशकै पहिलो सहयोगापेक्षी सडक मानव रहित जिल्ला घोषणा भइसकेकोछ । गत वर्ष फाल्गुनमा मकवानपुरलाई देशकै पहिलो सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।