आज कार्तिक पूर्णीमा, मेलामय बाँके


आज कार्तिक पूर्णीमा, मेलामय बाँके

नेपालगन्ज : बाँकेमा कार्तिक पूर्णीमाका अवसरमा लाग्दै आएको मेला आजबाट सुरु हुदैछ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला आजबाट सुरु हुदैछ । कतिपय स्थानमा हिजोदेखि मेला सुरु भएकोछ । यस्ता मेला कहिँ तीन दिन त कहिँ पाँच दिन सम्म लाग्नेगर्छ ।

कार्तिक पूर्णीमाका अवसरमा बाँकेको जानकीगाउँपालिका वडा नम्बर–५, गुरुवागाउँ स्थित श्री श्याम सुन्दर नागा बाबा कुट्टीमा आजबाट मेला सुरु हुदैछ । तीन दिन सम्म चल्ने मेला हरेक वर्ष कार्तिक पूर्णीमाका अवसरमा लाग्नेगर्दछ ।

मेलालाई भब्य र सभ्य गराउन यसअघि २५ सदस्यि मेला ब्यवस्थापन समिति समेत गठन गरिएकोछ । स्थानीय प्रमोद कुमार यादवको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन गरिएको हो ।

सामाजिक, धार्मिक र ऐतिहासिक मान्यताका कारण सो स्थानमा लामो समयदेखि कात्र्तिक पूर्णीमाका अवसरमा मेला लाग्दै आएको मेला व्यवस्थापन समितिका उपाध्यक्ष मनमोहन बर्मा बताउँछन् ।

यस्तै कार्तिक पूर्णीमाका अवसरमा बाँकेको राप्ती सोनारी गाँउपालिका कचनापुरमा मेला सुरु भएकोछ । तीन दिनसम्म लाग्ने उक्त मेला गाँउपालिकाको टिकुलीपुर गाँउमा लागिरहेकोछ । हिजोदेखि सुरु भएको मेलाको विशेष रौनकता आज पूर्णीमाको दिन हुने स्थानीयबासी सुशीला केसी बताउँछिन् ।

यस्तै कार्तिक पूर्णीमाका अवसरमा आज बाँकेको राप्ती नदिमा समेत मेला लाग्ने गर्छ । बाँकेको डुडुवा गाँउपालिका कम्दी स्थित सिधनीया घाटमा लाग्ने उक्त मेलालाई ‘नहान’ मेलाको नामबाट समेत चिनिन्छ ।

विशेषगरि कार्तिक पूर्णीमाका दिन विहानै सूर्यदयसगैं राप्ती नदिमा स्नान र पूजाआज गर्नेको भीड लाग्छ । राप्ती नदिमा लाग्ने स्नान मेलाका लागि नेपालगन्ज, कोहलपुर, खजुरा, राप्तीनदी आसपास लगायत दाङ्ग, बर्दिया तथा भारतको रुपैडिहा, नानपारा तथा बहराईचबाट समेत श्रद्धालुहरु आउने गर्छन् । कार्तिक पूर्णीमाका अवसरमा जिल्लाका विभिन्न जलासयमा श्रद्धालुहरुको भीड समेत लाग्नेगर्छ ।

धार्मिक तथा सास्कृतिक मान्यताअनुसार आज कार्तिक पूर्णीमाका दिन सूर्योदयसगैं नदीमा स्नान गरि पुजाअर्चना गरेमा पाप मेटिने मान्यता रहेकोछ ।

तील, जौं, कुश, चामल र पुष्प लिएर गंगाको पुजाअर्धना गरि गंगा स्नान गर्दा वर्षभरीको पाप मेटिने विश्वासका साथ स्नान गरिन्छ । कार्तिक पूर्णीमाका अवसरमा व्रत(उपवास) वस्ने गर्दछन् ।

राप्ती नदीमा नुहाउनका लागि भक्तजनहरुको सोमवार बेलुकीदेखिनै नदी घाटमा घुईंचो लागेको थियो । मङ्गलबार विहान ३ बजेदेखिनै स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लागेकोछ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

कार्तिक पूर्णीमासगैं जिल्लाका विभिन्न स्थानमा मेला समेत लाग्ने गर्छ । बाँके जिल्लामा कात्र्तिक पूर्णीमाका अवसरमा गुरुवागाँउ, टिकुलीपुरसहित जोगागाउँ, होलिया, चिसापानी लगायतका क्षेत्रमा मेला लाग्ने गर्दछ ।

यस्ता मेलाले स्थानीय कलाकार, व्यापार, सँस्कृतिको जगेर्ना गर्नुका साथै सामाजिक सद्भावलाई समेत बलियो बनाउने गुरुवागाँउ मेला व्यवस्थापन समितिका उपाध्यक्ष मनमोहन बर्मा बताउँछन् ।

यसैबीच शिख समुदायको आस्थाका प्रतिक गुरुनानक देवको ५५१ औं प्रकाश वर्ष (जन्मजयन्ती) धुमधामका साथ मनाइदैछ ।
गुरुनानक जयन्तका अवसरमा नेपालगन्जको विपी चोकमा रहेको गुरुद्वारा सजाइएकोछ ।

गुरुनानक जन्मजयन्तिका अवसरमा नेपालगन्जको गुरुद्वारामा शिख धर्मग्रन्थको अखण्ड पाठ सुरु गरिएकोछ । अखण्ड पाठको समापनमा भण्डारा (लंगर) प्रसाद वितरण समेत गरिनेछ ।

बाँकेको हिरमिनियाको सिख्खनपुरवामा सिख समुदायको सबै भन्दा पुरानो गुरुद्वारा रहेको छ । शिख समुदायको बाँकेमा मात्र ३ हजार बढी जनसंख्या छ ।