नेपालगन्ज : खजुरा गाउँपालिकाको समन्वय र सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा बाँकेको खजुरा क्षेत्रका विद्यालय व्यवस्थापन समितिमा निर्वाचित महिला सदस्यलाई ३ दिने नेतृत्व विकास तालिम आयोजना गरिएको छ ।
तालिम उद्घाटनमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले विद्यालय सुधारका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले काम गर्ने ईच्छा चाहनाका साथ निर्वाचित भएर समितिमा प्रवेश गरेका महिलाहरुका लागि नेतृत्व विकास तालिम सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । खजुरा क्षेत्रका १२ विद्यालयका २४ जना महिला सदस्यका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको स्रोत व्यक्ति टंक दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको समग्र व्यवस्थापकीय पक्षमा नेतृत्वदायी भूमिकामा रहेका उनीहरुलाई तालिम दिएर आफ्नो दायित्व र जिम्मेवारी वहन गर्न थप उर्जा प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको स्याकका लक्ष्मी शर्माले बताए ।
३ दिन सम्म सञ्चालन हुने सो तालिममा संस्थाकी प्रशिक्षक नेत्रकला शाही, परियोजना अधिकृत कल्पना अधिकारी तथा सिनियर सुपरभाईजर लक्ष्मी शर्माले प्रशिक्षण गर्ने कार्यक्रम रहेकोछ ।