तीन दिन लाईसेन्स सम्बन्धि काम बन्द हुदै


तीन दिन लाईसेन्स सम्बन्धि काम बन्द हुदै

नेपालगन्जः यातायात व्यवस्था कार्यालय नेपालगन्जले कार्यालयबाट प्रदान गर्दै आएको लाइसेन्स सम्बन्धि सेवा तीन दिनका लागि बन्द गर्ने जनाएकोछ ।

नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयले आगामी तीन दिनसम्मका लागि कार्यलयबाट प्रदान गर्दै आएको लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्य बन्द हुने जनाएको हो ।

यातायात विभाग सूचना प्रविधि शाखा मिन भवन काठमाण्डौले कार्तिक २९ गते यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई पत्र पठाउँदै सवारी चालक अनुमती पत्रको डेटावेस पुरानो सर्भरबाट नयाँ सर्भरमा माइग्रेट गर्नुपर्ने भन्दै तीन दिनका लागि लाईसेन्स सेवा अवरुद्ध हुने बताएको थियो ।
सोही पत्रका आधारमा आगामी मंसिर ४,५ र ६ गते यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट सवारी चालक अनुमती पत्रसम्बन्धि सम्पूर्ण सेवाहरु बन्द हुने भन्दै यातायात कार्यालय नेपालगन्जले आज सूचना जारी गरेको छ ।

सवारी चालक अनुमति पत्रका लागि यातायात ब्यवस्था कार्यालय नेपालगन्जले गर्दै आएको बायोमेट्रिक(फोटो खिच्ने कार्य), नविकरण र रसिद काट्ने कार्य प्रभावित बन्नेछ । कार्यालयले जारी गरेका सूचनामा विभागले सर्भर माईग्रेट गर्दा सेवाग्राहीमाथि पर्न गएको असुविधाको क्षमा मागेकोछ ।

साथै मंसिर ४ गते बुधबारका दिन बायोमेट्रिक (फोटो खिच्ने) का लागि पालो कुरेकाहरुका लागि मंसिर १२ गते विहीबार फोटो खिच्ने व्यवस्था मिलाइएको समेत यातायात व्यवस्था कार्यालय नेपालगन्जले जनाएकोछ ।