जानकी गाउँपालिकाको केन्द्र मानपुरमा सार्न सिफारिस


जानकी गाउँपालिकाको केन्द्र मानपुरमा सार्न सिफारिस

हाल वडा नम्बर–४, मा रहेको बाँकेको जानकी गाँउपालिका । तस्विरः सेतोखरी

बुटवल: बाँकेको जानकी गाँउपालिकाको केन्द्र परिर्वतनका लागि सिफारिस गरिएको छ । प्रदेश नम्बर पाँचको मन्त्रिपरिषद बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर–४, खजुराबाट वडा नम्बर–३, मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनको नियुक्तिका लागि पनि संघीय सरकारलाई सिफारीस गरेको छ । बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनमा डाक्टर राजेन्द्रप्रसाद खनाल नियुक्त गरेको छ । डाक्टर खनाल वरिष्ठ रेडियोलोजिष्ट हुन् ।

यसअघि मेडिकल सुपरिटेण्डन रहेका डाक्टर कृष्ण खनालले अनिवार्य अवकास पाएका थिए । यस्तै बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्षले ५० हजार ६०० मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ ।

यसैगरी प्रदेश लोकसेवा आयोजकका सदस्यको पारिश्रमिक, सेवाको सर्त र सुविधा पनि बैठकले स्वीकृत गरेको छ । आयोगका सदस्यहरुले पनि ५० हजार ६ सय पारिश्रमिक पाउनेछन् । यता कानून मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ ।

पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् । बैठकले विपत्त व्यवस्थापन कार्य सञ्चालन निर्देशिका, कृषि पशुपंक्षी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम र स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।