नेपालगन्ज: फत्तेबाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ । अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उनकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा सोमबार स्थापना गरिएको हो ।
शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ बराबरको घरजग्गा शाह दम्पतीको शेषपछि अस्पतालले प्रयोग गर्नेछ ।
फत्तेबाल आँखा अस्पताल श्रीजङ्गका बुवा कप्तान फत्तेजङ्ग शाह र आमा बाल दिव्येश्वरी शाहले नेपालगन्जको फुल्टेक्रामा एक विघा जग्गा र घर दान गरेपछि २०४३ सालमा स्थापना भएको हो ।
प्रतिमा अनावरणपछि शाहले अस्पतालबाट प्राप्त सम्मानले आफूलाई भावुक बनाएको बताए । अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माका अनुसार अस्पतालका लागि कमलकुमार टण्डनले ६२ लाख बढी रुपैयाँको सहयोगमा एक सय बेड, पार्किङसँगै गरिब तथा असहाय बिरामीको उपचारमा सहयोगका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
श्रीजङ्ग र रुद्रकुमारीको प्रतिमाको अनावरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी कार्यवाहक मेयर उमा थापा मगरले सहयोग लिन र पाउनका लागि मरिहत्ते गर्ने समाजमा दिनसक्ने श्रीजङ्ग जस्ता समाजसेवी दानवीरको सम्मानमा कुनै कञ्जुस्याई हुन नहुनेमा जोड दिइन् ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यवाहक सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल निर्देशक डा. देवराज भारती, रेडक्रसका सदस्य गोपीचन्द्र वर्णवाल, नेपालगञ्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदीले दानवीर शाहको सहयोगप्रति आभार प्रकट गरेका थिए ।