नेपालगन्ज: भ्रमण वर्ष नजिकिँदै जाँदा बाँकेमा पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । बजेट अभावका कारण जिल्लामा भ्रमण वर्ष सफल बनाउन सरोकारवालाले हालसम्म तदारुक्ता देखाएको छैनन ।
सरकारले लिएको भ्रमण वर्ष–२०२० सुरु हुन करिब डेढ महिना बाँकी छ । तर, भ्रमण वर्ष लक्षित बाँकेमा गतिविधि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठी पत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्नेबाहेकका अन्य काम गरेका छैनन् । जसका कारण भ्रमण वर्ष २०२०ले बाँकेलाई छायाँमा पारेको भान भएकोछ ।
यहाँस्थित होटल व्यवसायी, टूर एण्ड ट्राभल्स, उद्योगी ब्यापारि, स्थानीय तह, पत्रकार लगायतसंग प्रचुरमात्रा छलफल बहस हुन सकेकोछैन । अझ बाँके जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजी समेत भएकोछैन । भएका पर्यटक स्थलहरुमा प्रयाप्तमात्रामा भौतिक संरचना निर्माण, मर्मत समेत हुन सकेकोछैन ।
भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि बाँकेमा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउँछन् । उनले भ्रमण वर्षको नारा नारामै सीमित भएको बताए ।
पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि बजेट नहुँदा प्रचारप्रसार लगायका काममा समस्या भएको काफ्लेको भनाई छ । सरकारले १०० वटा गन्तव्य सूचिकृत गर्दा बाँकेका चार वटा समेटिएका हुन् । चार वटै गन्तव्य सूचिकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन ।
यस्तै गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवद्र्धनका लागि बजेट भने नछुट्याएको बताउँछन् ।
‘५० वटा गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ,’ उनले भने, ‘त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन् । नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।’
सरकारले बाँकेको नेपालगन्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह बाबा मजारलाई सूचिकृत गरेको छ ।
पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको बताँउछन् । बजेट अभावकै कारण तयारी नहुँदा बाँकेमा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाई छ ।
‘सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज लगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवद्र्धन जरुरी छ ।’
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ ।