भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने
नेपालगन्ज: नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला आजबाट पोखरमा सीमा सुरक्षा बैठक बस्न लागेकोछ । नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक तीनदिनसम्म बस्नेछ ।
पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी हुनेछ । बैठकमा सहभागी हुन भारतबाट पाँच जनाको टोली पोखरा आइसकेकोछ ।
सुरक्षा स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बैठक केन्द्रित हुनेछ । तर, भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने स्रोतले बतायो ।
सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ । यद्यपि, नेपाल–भारत सीमा सुरक्षा बैठक नियमित हुन सकिरहेको छैन । ०६९ सालयता जम्मा तीनपटक मात्रै नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ । २०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । भने चौथो बैठक आजबाट सुरुहुदैछ ।
नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु हुदैंगर्दा यता बाँके र बर्दियाको १ सय ३ वटा सीमा स्तम्भ गाएब भएको पाइएकोछ ।
बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्टाउने ५ सय ५२ वटा सीमा स्तम्भ कायम गरिएको छ । जसमा मुख्य, सहायक र सानो छन् । तर, ती सबै सीमा स्तम्भहरु जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ वटा सीमा स्तम्भ नै गायव भएका छन् ।
यी सीमा स्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र सानो ७८ वटा छन् भने बाँकेमा नौ वटा सीमा स्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच वटा सीमा स्तम्भ छन् । बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ ।
करिब ६५ किलोमिटर बाँके खण्ड र ८० किलोमिटर बर्दिया खण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्टाएको छ । नेपाल–भारत छुट्टाउने बाँके खण्डमा जम्मा ३ सय ७ वटा सीमा स्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २ सय ७५ वटा सीमा स्तम्भ छन् । जसमध्ये मुख्य २७ वटा सीमा स्तम्भ राम्रो अवस्थामा छन् भने चार वटा खोलाले बगाएको छ ।
एउटा सीमा स्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । २ सय ४६ वटा सहायक सीमा स्तम्भ राम्रो अवस्थामा भए पनि २१ वटा सीमा स्तम्भको मर्मत गर्नुपर्ने देखिएको छ । तीन वटा साहयक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच वटा खोलाले बगाएको छ । यस्तै बर्दिया खण्डमा ७२ वटा सीमा स्तम्भ मर्मत गर्नुपर्ने भएको छ ।
जसमध्ये ३१ वटा मुख्य, ४० वटा साहयक र सानो एउटा सीमा स्तम्भ रहेको छ । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमा स्तम्भ ४ वटा छ भने साहयक १२ वटा र सानो ३१ वटा सीमा स्तम्भ रहेको छ । यस्तै ७ वटा साहयक सीमा स्तम्भ खोलाले बगाएको छ भने २५ वटा सानो सीमा स्तम्भलाई पनि खोलाले बगाएको छ ।
नापी विभागको रेकर्ड अनुसार ४२ नम्बरको सीमा स्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमा स्तम्भ कर्णाली नदीसम्म बर्दिया खण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँके खण्ड पर्दछ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् ।
यो फिल्ड सर्वे टोलीले पनि समयमा काम पुरा गर्न सकेको छैन । स्रोतका अनुसार सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमा नाकामा शसस्त्र प्रहरी बल नेपाल तैनाथ छ । शसस्त्र प्रहरी पोष्ट १३ देखि करिब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दुरी बाँके र बर्दियाकै हो ।
उता भारतले भने शसस्त्र सीमा बल (एसएसबी)लाई करिब ५ किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपाल तर्फको सीमा नाकाबाट आफ्नो दबाब बढाउँदै लगेको स्थानीयको भनाई छ । भारतीय सीमा सुरक्षा बल (एसएबसी)को उपस्थिति भने बाक्लोरुपमा रहेको छ ।
प्रत्येक १/२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सीमानाको बाँके खण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् । भातरतर्फ भने अर्धसैनिक बल, एसएसबीको दह्रो उपस्थिति रहने गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले नेपालगन्ज भन्सार, कालाबन्जर, गंगापुर, नरैनापुर, सुईयाबघौडा लगायतका ठाउँमा सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरेको छ । ‘हामीले दैनिकरुपमा सीमामा गस्ती गरिरहेका छौं’, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले भने, ‘सीमा स्तम्भहरुको अवस्था नियमित रुपमा अवलोकन गर्दै आएका छौं ।’
सीमामा दुई देशका सीमा सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेलाबेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । ‘सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टस्मा छलफलसमेत हुने गरेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘प्रत्येक साता र आवश्यकता अनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।’
सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमा स्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । ‘हामीले सीमा स्तम्भ मर्मत गर्ने होइन, हाम्रोकाम सीमा सुरक्षाको मात्रै हो । सीमा सुरक्षा कै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ । पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने ।
सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउँछन् ।
‘सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन् । सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि पहल भइरहेको छ,’ उनले भने । बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्काे युनिटले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रुपमा पनि जिल्लामा परिचालित छ ।