बघौडा क्षेत्रको विकास गरिनुपर्नेमा जोड


बघौडा क्षेत्रको विकास गरिनुपर्नेमा जोड

नरैनापुर(बाँके) : बघौडा क्षेत्रको विकासमा जोड दिदै बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक विहिबार नरैनापुर गाउँपालिकामा सम्पन्न भएकोछ ।

हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत वर्षदेखि गाउँपालिका स्तरमा बस्न थालेको हो । बैठकमा विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकाको सवालमा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुतगतीमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो ।

गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा बैठकमा सहभागि सरकारी कार्यालयका प्रमुखहरुले जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्टआतिथ्यतामा उक्त बैठक बसेको हो ।

प्रमुख अतिथि नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्ने देखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने बताइन ।

गाउँपालिकाका अध्यक्ष शाहले विस्तारै विकासमा गति लिँदै गरेको नरैनापुर गाउँपालिकामा विषयगत सरकारी कार्यालयहरुले विशेष ध्यान दिनुपर्ने औल्याए ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण समेत गरेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ ।