ब्रिटिश स्कुलको चरम लापरबाही
नेपालगन्ज मेडिकल कलेजमा आइसियुमा उपचाररत चार बर्षिया बालिका सफलता बजगाईँ ।
नेपलागन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९, बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग स्कुलको चरम लापरवाहीका कारण चार वर्षीया बालिकाको ज्यान जोखिममा परेको छ ।
नीजि विद्यालयको चरम लापरवाहीका कारण सोही विद्यालयमा अध्ययनरत चार वर्षीया बालिका जीवनमरणको दोषाँधमा छिन् । शुक्रबार विहान ९ बजे नै विद्यालय पुगेकी चार वर्षीया बालिका सफलता बजगाईँ केही समयपछि शौच गर्न विद्यालयभित्रै रहेको शौचलयमा पुगेको र शौचालयबाट निस्किन नसकेपछि करिब चार घण्टा थुनिएर बेहोस भएको जानकारी आफूले पाएको बालिकाका मामा शरद पाण्डेले सेतोखरीलाई बताए ।
‘विद्यालयको पिकनिक रहेछ, भान्जी शौचालय गएकै बेला विद्यालयका शिक्षक र अरु विद्यार्थी पिकनिक गए । भान्जी शौचालयमा करिब चार घण्टा थुनिएकी रहिछन्,’ घटना विवरण सुनाउँदै मामा पाण्डेले भने, ‘पिकनिक जाँदा पनि आफ्नो विद्यार्थी उपस्थित भए÷नभएको बारे विद्यालय प्रशासनले वास्ता गरेन ।’
उनले विद्यालयका शिक्षक शिक्षिकाप्रति आक्रोश व्यक्त गर्दै भने, ‘सकुशल विद्यालय गएको बच्चा अहिले मृत्युसँग लडिरहेको छ, यसको जिम्मेवारी कसले लिने ? हामीले सुखदुख गरेर विद्यालयले तोकेको शुल्क तिरेर पठाएका हौं, मार्नका लागि पठाएको होइन । पिकनिक जाँदासमेत साथमा बच्चा भए/नभएको विद्यालयका शिक्षक शिक्षिकाले किन वास्ता गरेनन् ?’
सफलताकी मामा शरदले सेतोखरीसंग कुरा गर्दै भने–‘शौचालयमा थुनिएर बेहोस भएकी भान्जीलाई विद्यालयले अस्पताल नलगि अर्धचेत अवस्थामा अभिभावकको जिम्मा लगाउनु गैरजिम्मेवारी हो ।’
चार वर्षीया सफलता मामाको घरमा बस्दै आएकी थिइन् । बुवा जाजरकोटस्थित नेपाली सेनामा कार्यरत रहेको र आमा बर्दियाको एक स्कुलमा शिक्षिकाको रुपमा कार्यरत छिन् ।
छोरी बेहोस भएकोबारे बुवाआमालाई खबर गरिएको र आउँदै गरेको बालिकाका मामा शरदले जानकारी दिएका छन् । यतिवेला बालिका सफलताको नेपालगन्ज मेडिकल कलेजमा आइसियुमा उपचार भइरहेको छ । दिउँसो करिब दुई बजेतिर बेहोस भएकी बालिका साँझ पौने आठ बजेपछि होसमा आएको उनका मामा शरदले सेतोखरीलाई जानकारी दिएका छन् ।
बालिका कतिबेलादेखि बेहोस भइन् भन्नेबारे विद्यालयलाई समेत जानकारी नभएको उनले बताए । बालिकालाई उपचारका लागि नेपालगन्ज मेडिकल कजेलमा पु¥याएलगत्तै बाल विशेषज्ञ नभई असम्बन्धीत डाक्टरलाई चेकजाँच गर्न लगाइएको थियो ।
प्लाष्टिक सर्जन डा. विनोद कर्णले सुरुमा बालिकाको चेकजाँच गर्दै अवस्था सामान्य रहेको भन्दै गैरजिम्मेवारपूर्ण व्यवहार गरेको बालिकाका आफन्तले बताएका छन् । ‘बालिका बेहोस् हुँदाहुँदै पनि असम्बन्धीत डाक्टर आएर अवस्था सामान्य रहेको बताउनुभयो । त्यसपछि हामीलाई थप शंका लागेपछि बाल विशेषज्ञ गुहार्र्यौ,’ बालिकाका आफन्तले भने, ‘अर्कै रोगका विशेषज्ञ आएर बालिकाको स्वास्थ्यमाथि खेलबाड गर्न खोज्नुभयो । यति ठूलो अस्पतालमा यस्तो गम्भीर लापर्वाही हुँदोरहेछ ।’
विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले विद्यालयको आफ्नो बचाउ गरे पनि बालिका कति समयसम्म शौचालयमा थुनिएको भन्नेबारे अनभिज्ञता प्रकट गरे । तर, उनले विद्यालयका विद्यार्थी र शिक्षकहरु पिकनिकमा गए/नगएको बारे केही खुलाएनन् । ‘घटना अकल्पनीयरुपमा भयो, हामी निकै तनावमा छौं,’ उनले भने ।
विद्यालयमा ४ वर्षीय बालिका जिवनमरणको दोसाधमा हुदाँ यता विद्यालयका प्रिन्सिपलले शुक्रबारनै नेपालगन्जको महेन्द्रपार्कमा विद्यार्थीसहित पिकनिक गएको फोटो आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै महेन्द्रपार्कभित्रको फोहोर व्यवस्थापनमा चासो देखाइरहे ।
बालिकालाई उपचारका लागि दिउँसो साढे चार बजे नेपालगन्ज मेडिकल कलेजमा ल्याई पुर्याएको बताउँदै उपचारमा संलग्न बालरोग विशेषज्ञ डा.रोमा बोराले भनिन्, ‘केही सुधार भएको छ, आत्तिनुपर्ने अवस्था छैन ।’ तर, बालिकालाई केही समय डाक्टरकै निगरानीमा राख्नुपर्ने डा.रोमाको भनाई छ ।
बालिकाका आफन्तहरुले बालिकाको उपचार खर्च विद्यालयले व्यवहोर्नुपर्ने बताएका छन् । ‘बालिकालाई शौचालयमा थुनेर पिकनिक जाने विद्यालयका शिक्षक शिक्षिकामाथि कारबाही होस्,’ बालिकाका मामा शरदले भने, ‘बालिकाको उपचार र जीवन रक्षा गर्ने दायित्व विद्यालयको हो, यदी त्यसो भएन भने हामी कानूनी कारबाहीमा जान्छौं ।’
उनले चर्को शुल्क तिरेर विद्यालय पठाए अभिभावकले सुरक्षित महसुस गर्नुको सट्टा विद्यालयमै बालबालिका असुरक्षित हुनुपर्ने अवस्था आएको भन्दै विद्यालयमा आफ्ना बालबालिकाको अवस्था कस्तो छ भन्नेबारे अभिभावकलाई सर्तक हुन पनि आग्रह गरेका छन् । विद्यालयका पठाएका छोराछोरी सुरक्षित छैनन् भन्ने यस घटनाले पुष्टि गरेको बालिकाका आफन्तले बताए ।
पछिल्लो समय सरकारी विद्यालयको तुलनामा निजि विद्यालयको मनोमानी बढदै गइरहेकोछ । जसका कारण विभिन्न बहानामा विद्यार्थी र अभिभावकले सास्ती खेप्नु परेकोछ । गुणस्तरीय शिक्षाका नाममा प्रचारमुखि खोलिएका विद्यालयले शिक्षा दिनुको साटो अभिभावकलाई आर्थिक भारदिनुका साथै विद्यार्थीको भविष्य जोखिममा पारिरहेदासम्म सम्बन्धित सरोकारवाला निकाय मुखदर्शक बनिरहेकाछन् ।