विद्यालयको चरम लापरवाही, विद्यालयले घटनाको जिम्मेवारी लिएर सबै उपचार गर्नु पर्छ: मानवअधिकारवादी
नेपालगन्ज : नेपालगन्ज उप महानगरपालिका वडा नम्बर–१९, बसपार्कपछाडि स्थित ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत ४ वर्षीया बालिका सफलता बजगाई विद्यालय समयभित्र शौचालयमा थुनिएर बेहोश भएको घटनाप्रति मानवअधिकारबादी संघ–संस्था तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँई, उच्च अदालत बार एशोसियसन नेपालगन्ज अध्यक्ष विकास आर्चाय, सिवीन नेपालगन्ज प्रमुख सिद्धराज पनेरु, इन्सेक प्रदेश ५ संयोजक भोला महतले सोमबार प्रेस विज्ञप्ती प्रकाशित गरी विद्यालयमम बालिका बेहोश घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विद्यालय भित्र नाबालिका छात्रा लामो समयसम्म शौचालयमा बन्द भइ बेहाश हुनु ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलको चरम लापरवाही भएको मानवअधिकारवादी संघसंस्थाले बताएका छन् ।
‘शौचालयमा बालिका बेहोश भएको पत्रपत्रिकामा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेपालगन्जमा सोमबार छलफलपछि निकालिएको विज्ञप्तीमा भनिएको छ–‘विद्यालय सञ्चालन समयमा विद्यालय हाता भित्रै नाबालक छात्रा लामो समयसम्म शौचालयमा बन्द हुँदासमेत विद्यालय प्रशासनले समयमा नै ध्यान नदिई चरम लापरवाही गरेको घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत बार, सिविन नेपालले विद्यालयको भौतिक संरचनाहरु बालमैत्री नहुँदाको परिणामका रुपमा पनि बालिका बेहाशको घटनालाई लिएको बताएकाछन् । यहि मंसिर ६ गते ४ बर्षिया बालिका बजगाई नेपालगन्ज बसपार्क नजिकै रहेको ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलको शौचालयमा थुनिएर बेहोस भएकी थिइन् । विद्यालयले केही नगरेपछि बालिकाका अभिभावक आएर उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना गरेका थिए ।
ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल हेमन्तराज काफ्लेले बालिका बजगाईको उपचार गराउनुको साटो अझैंपनि आफ्नो बचाउ गर्दै बालिका विद्यालयमा बेहोस नभएको र अस्पतालले सुइ लगाएर बेहोस बनाइदिएको सेतोखरी अनलाईनको कार्यालयमा आएर बताएका छन् ।
प्रिन्सिपल काफ्लेले त्यति मात्र भनेनन् की बालिका निको भएर घर गइसकेको समेत बताए । तर, मानवअधिकारवादी संघसंस्थाले निकालेको विज्ञप्तीमा बालिकाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
‘बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विद्यालय व्यवस्थापनलाई घटनाको जिम्मेवारी लिदैं बालिकाको उपचारको व्यवस्था गर्न समेत हामी आग्रह गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।
विरुवा बाँड्ने अभियन्ताका रुपमा आफुलाई प्रस्तुत् गर्ने गरेका काफ्लेले सुरुमा त सञ्चारमाध्यमले गलत समाचार लेखेको भन्दै आपत्ति जनाए । आफ्नो फेसबुक वालमा समाचार गलत भएको भन्दै पोष्ट समेत गरे । पछि घटना स्विकार गरे अनि आफ्नो फेसबुकमा पोष्ट गरेको पोष्ट हटाए ।
विज्ञप्तीमा विद्यालयहरुमा शारिरीक तथा मानसिक दण्ड दिएका घटनाका सन्र्दभमा पटक–पटक सम्बन्धित स्थानीय तह र सरोकारवालाहरुको ध्यानाकर्षण गराईरहँदापनि यस्ता किसिमका घटना भईरहनुले आफुहरुलाई चिन्तित बनाएको उल्लेख गरिएको छ ।
‘अतः विद्यालयमा बालबालिका विरुद्ध हुने कुनैपनि प्रकारका हिंसा, दुव्र्यवहार बालअधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून तथा सन्धि महासन्धिको विरुद्धमा हुने भएकाले नियमन गर्ने निकायहरु समेतलाई बालअधिकारको संरक्षण । प्रवर्धनका लागि गम्भिर हुन हामी आवहन गर्दछौं’ विज्ञप्तीमा लेखिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण
मंसिर ६ गते शुक्रबारका दिन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, बसपार्क पछाडी रहेको ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलमा बालिका बेहोस भएको घटना प्रति राष्ट्रिय मानवअधिकार आयोग, सम्र्पक कार्यालय नेपालगन्जको गम्भीर ध्यानाकर्षण भएकोछ ।
आयोगले उक्त घटनामा सत्यतथ्य बुझेर दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको आयोगका नेपलागन्ज प्रमुख चन्द्रकान्त चापागाँईले बताए ।
उक्त विद्यालयमा विद्यार्थी र शिक्षकहरु महेन्द्र पार्कमा पिकनिक खान जाँदा सोही विद्यालयमा अध्यनरत ४ वर्षिय बालिका सफलता बजगाई विद्यालय हाताभित्र रहेको विद्यायकै शौचालयमा करिब ४ घण्टा थुनिएर बेहोस भएकी थिइन । तर, विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्ले विद्यालका शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन कुनै पनि निकायले ४ घण्टाको समयसम्म ती बालिकाको खोजी गरेको थिएन ।
४ घण्टा पछि शौचालयबाट अर्धचेत अवस्थामा उद्दार गरिएकी बालिका बजगाईको तत्कालिन अवस्था चिन्ताजनक देखिएको आयोगकको ठहर छ ।
विद्यालय प्रशासन र कर्मचारीको चरम लापरबाहीका कारण बजगाई जस्ता थुप्रै बालबालिकाले आगामी दिनमा पनि यस्तै नियत भोग्न नपरोस भन्दै उक्त घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले जिल्ला स्थित प्याव्सन, शिक्षा कार्यालय लगायत सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।
घटना गुपचुप बनाउदै प्रिन्सिपल
घटनालाई गुपचुप बनाउनका लागि विद्यालयका प्रिन्सिपल जोडतोडले लागेको खुलेको छ । उक्त घटनालाई साम्य पार्न उनी यतिवेला अभिभावका घरदैलो धाइरहेका छन् ।
नेपालगन्जमा रहेका विभिन्न सञ्चारमाध्यमा आबद्ध सञ्चारकर्मीसंग प्रत्यक्षरुपमा भेटेर हातपाउ जोड्दै मेरो गल्ती भयो, मलाई अप्ठेरोमा नपार्नुस, मलाई बचाउनुस अबदेखि मेरो र मेरो विद्यालयका बारेमा समाचार नलेखिदिन भन्दै हातपाउ जोडिरहेको एक सञ्चारकर्मीले बताए ।
उनका अनुसार सेतोखरी अनलाईन लगायतका विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशित भइसकेपछि प्रिन्सिपल काफ्ले आईतबार एक पत्रकारका घरमा विहान सवेरै पुगेर हातखुट्ट ढोक्दै अबका दिनमा आफ्ना बारेमा समाचार नलेखिदिन विन्तिभाउ समेत गरेका थिए ।
आफूलाई अभियन्ताका रुपमा चिनाउदै आएका प्रिन्सिपल काफ्ले उक्त घटना पछि आफ्नो फेसबुकमा समाचार र मिडिया हाउसप्रति नानाथरी स्टाटस लेख्दै भएको साख समेत गुमाउदै गएका छन् ।
बालिका बेहोस भइसकेपछि उनले आफ्ना नजिकका मित्र भनिएका डा. विनोद कर्णलाई बोलाएर सामान्य अवस्था देखाएका थिए । तर, डा.कर्ण उक्त समस्याका विज्ञ भने होइनन । प्राप्त जानकारी अनुसार बालिका बेहोसमै भएको अवस्थामा डा.कर्णले बालिकालाई केही पनि नभएको भन्दै जवरजस्ती उनका आफन्तलाई बुझाएका थिए ।
त्यसलगत्तै अभिभावकले बालिकाको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै बालरोग विशेषज्ञ डाक्टर रोमा बोरासंग उपचार गराएका थिए । डा. कर्ण र प्रिन्सिपल काफ्लेले केही पनि नभएको बताइरहेका ती बालिका सोमबारसम्म उपचारमा रहेको मानवअधिकारबादी संघसस्थाले सोमबार निकालेको विज्ञप्तीबाट प्रष्ट हुन्छ ।
प्रिन्सिपल काफ्लेले बेहोस भएकी बालिकाको अभिभावकलाई उक्त घटना मिलिसक्यो बच्चि निको भईसकिन हामी यो घटनामा कुनै पीडित छैनौ भन्न लगाई घटनालाई गुपचुप पार्ने कार्यमा सक्रिय भूमिका खेलिरहेको खुलेकोछ ।
प्रिन्सिपल काफ्लेले यति ठूलो घटना भइसक्दा सोमबारसम्म पनि घटनाका बारेमा झुट बोलिरहेकाछन् ।
थप समाचार पढ्नुहोस्
शिक्षकहरु पिकनिकमा मस्त, विद्यार्थी शौचालयमा बेहोस
अस्पतालले सुई लगाएर बालिकालाई बेहोस बनायो: प्रिन्सिपल काफ्ले