नेपालगन्ज : ठकुरी पत्रकार समाज नेपालकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेपालगन्जकी क्रियाशिल पत्रकार करुणा शाहले आफ्नो जन्मदिनका अवसरमा यसवर्ष पनि सामाजिक काम गरेकी छन् ।
उनले जन्मदिनमा हुने खर्च कटाएर सामाजिक कार्यमा खर्चेकी हुन् । शाहले आफ्नो जन्मदिनको अवसरमा फोक्सोको क्यान्सरबाट पीडित बाँके खजुराका डीना परियारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।
पत्रकार शाहले नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा डिना परियारको आमालाई उपचारमा सहयोग पुगोस् भन्दै सहयोग स्वरुप १० हजार रुपैया नगद प्रदान गरेकी हुन् ।
२४ वर्षिय डीना परियार खजुरामा कपडा सिलाई गरेर घर खर्च चलाउदै आएकीछन् । क्यान्सर पीडित दिनाको अहिले काठमाडौ स्थित मनमोहन अस्पतालमा उपचार भैरहेको छ ।
फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि दिनाको घर परिवारले उपचारको लागी सहयोग गरिदिन अपील गरिरहदा पत्रकार शाहले गरेको सहयोग महत्वपूर्ण रहेको डीना बचाउ अभियानका अभियन्ता मिरा ढकालले बताइन ।
क्यान्सर रोग पीडित दिनाको आर्थिक अवस्था दयनिय छ, उनलाई बचाउन सहयोगीमनलाई हार्दिक अनुरोध गर्छु, अभियन्ता मिराले बताइन ।
डिनाको उपचारका लागी चालिएको अभियानबाट हालसम्म डेढ लाख रकम सङकलन भएको उनी बताउछिन् ।
पत्रकार करुणा शाहले हरेक वर्ष आफ्नो जन्मदिनमा हुने खर्च कटाएर विभिन्न सामाजिक कार्य गर्दै आएकीछन् । उनले गतवर्ष पनि जन्मदिनका अवसरमा नेपालगन्ज स्थित निलसागर बृद्धाश्रमलाई १५ हजार, रुपैयाँ सहयोग गरेकी थिइन ।
शाहले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गर्नु आफुलाई उत्तम लाग्ने बताउदै यसलाई निरन्ता दिने बताइन् ।