नेपालगन्ज:लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको बाँकेमा भव्य शुरुवात गरिएको छ । २५ नोबेम्बरदेखि १० डिसम्बरसम्म मनाइने उक्त अभियान अन्तरगत नेपालगन्जमा सोमबार सचेतना ¥याली र कोणसभा गरिएको छ ।
‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ उप–महानगरपालिका कार्यालयबाट सुरु भएको सचेतनामूलक ¥याली त्रिभुवन चोक, न्यूरोड, सेतु विक चोक हुँदै धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको आवाज एक हुनुपर्ने बताइन । उनले लैङ्गिक हिंसा समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसगैं यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन ।
१६ दिने अभियान अन्तरगत घरदैलो अभियान, रेडियो संवाद गर्ने, बालगृह, सुधार गृह र कारागार अनुगमन, अन्तरक्रिया, विद्यालयमा अभिमुखिकरण, सेतो रिवन वितरण गर्ने लगायतका कार्यक्रम संचालन गरिने महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले जानकारी दिइन ।
उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, माईती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइराला लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि सामुहिक प्रयास आवश्यक रहेको भन्दै सबैसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान नगर स्तरीय मुल समारोह समिति र नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा निकालिएको सचेतना ¥यालीमा विभिन्न संघसस्था, बालक्लब, युवा क्लब, विद्यार्थी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
सो क्रममा चेतनामुलक सडक नाटकसँगै सेतो रिवन वितरण र प्रतिवद्धताका लागि हस्ताक्षर समेत गरिएको थियो ।
यसैबीच, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सोमबार कोहलपुरमा दीप प्रज्वलन गरिएको छ । अभियानको उद्घाटन गर्दै कोहलपुर चौराहमा दीप प्रज्वलन गरीएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौरधीले समाजमा विभिन्न खाले लैगिङ्क हिंसा हुने
गरेकाले समाजलाई हिंसाबाट न्यूनिकरण गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
यस्तै, बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । गाउँपालिका र हरेक वडामा ‘समानताको पुस्ता:बलात्कार बिरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय मूल नारा लेखेको व्यानर र व्याच सार्वजनिक गर्दै कार्यक्रमको शुरुवात गरिएको हो ।
अभियानकै अवसरमा सोमबारै बेलुका खजुरा गाउँपालिकामा रहेका ८ वटै वडाका सार्वजनिक चोकहरुमा दीप प्रज्वलन गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।
उनका अनुसार दिवसअवधिभर किशोर संजालले हरेक वडाका एक सामुदायिक विद्यालयमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्ने, वडाहरुमा लैंगिक हिंसाविरुद्धका सूचनाहरु प्रवाह गर्दै नागरिकलाई सचेत पारिने तथा सम्बद्ध संस्थाहरुको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिनेछ ।