नेपालगन्ज:आगामी शनिबार हुने उपनिर्वाचनका लागि आज अन्तिम प्रचार–प्रसार गर्ने दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले यतिवेला दलहरु जोडतोडका साथ अन्तिम प्रचारमा जुटेका छन् ।
शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत गरि तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुनेछ ।
त्यस्तै धरान उपमहानगरपालिकाको मेयर पदको चुनाव पनि चासोका साथ हेरिएको छ । यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ ।
यस्तै उपनिर्वाचन अन्र्तगत शनिबार ३ गाउँपालिका प्रमुख र १ गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि काँग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ । त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिबार निर्वाचन हुँदैछ । यसअघि काँग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि शनिबार मतदान हुँदैछ ।
चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने काँग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने उसका लागि चुनौती छ ।
उपनिर्वाचन अन्र्तगत देशभरका ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गाउँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।
कुल ४२ वडाहरुमध्ये २३ वटा वडामा यसअघि नेकपाले जितेको थियो । सत्तापक्ष नेकपाले २३ वटा वडाहरु जोगाउनुपर्ने चुनौती छ । त्यस्तै नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको एउटा वडा पनि शनिबार दाउमा लाग्दैछ ।
४३ वटा वडाहरुमध्ये नेपाली काँग्रेसले यसअघि जितेका १२ वडाहरु सुरक्षित गर्नुपर्ने छ । त्यस्तै राजपा र समाजवादीले यसअघि जितेका ५ वटा वडाध्यक्ष पद जोगाउनुपर्ने चुनौती छ ।