कोहलपुर: स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गर्दै बाँकेको कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोहलपुर नगरपालिका–६, को उपनिर्वाचनलाई लक्षित गरेर सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ ।
उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले वडा नम्बर–६ मा र वडा नम्बर–५ मा अस्थायी सुरक्षा शिविर राखेर सुरक्षा व्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
‘आसन्न निर्वाचनलाई लक्षित गरेर व्यापक मात्रामा प्रहरी जनशक्ति थपिएको अवस्था छ,’ उनले भने, ‘प्रहरी बिट मात्र रहेको वडा नम्बर–६, मा अहिले पहिलो चरणमा २५ जना प्रहरी परिचालन गरेका छौं ।’ उपनिर्वाचनलाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गर्न कोहलपुर प्रहरीले थप मद्दत सुरक्षाकर्मी माग गरेर परिचालन गरेको हो । प्रहरी नायव उपरीक्षक शाहीले भने–‘सो क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै थप २५ जना प्रहरी पठाउने तयारीमा छौं ।’
निर्वाचन क्षेत्रभित्र अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पैदल तथा गाडी दुवैको माध्यमबाट गस्ती बढाएर २४ सैं घण्टा सुरक्षाकर्मीहरु परिचालित भइसकेको अवस्था छ,’ प्रहरी नायव उपरीक्षक शाहीले भने । निर्वाचनका अवधिभर मतदान स्थल, उम्मेद्वार, उम्मेद्वारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेकाले सुरक्षा निकायहरुले विप्लव समुहलाई नै मुख्य सुरक्षा चुनौती ठानेका छन् । कोहलपुरमा पनि सोही अनुसार प्रहरीले सुरक्षा रणनीति बनाएर लागु गरेको छ ।
प्रहरी नायव उपरीक्षक शाहीका अनुसार निर्वाचनलाई असर पार्ने कुनैपनि गतिविधिलाई निस्तेज पारिनेछ । सुरक्षा व्यवस्था नियन्त्रणभन्दा बाहिर नजाने कोहलपुर प्रहरीले अनुमान छ ।
निर्वाचनस्थल र आसपासका क्षेत्रमा २४ सैं घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्नेछन् । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ ।
योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ ।