नेपालगन्ज : समुदाय स्तरमा मानव अधिकारका सवाललाई पहिचान गरि उक्त सवालमा स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउन पहल थालिएको छ ।
समुदाय स्तरमा रहेका मानव अधिकार सम्वन्धी विभिन्न सवालको पहिचान गरि पिडितका समस्या समाधान गर्न बर्दियाको बढैयाताल गाउँपालिकामा हिंसा निगरानी समुह गठन गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा गाउँपालिकास्तरीय निगरानी समुह गठन गरिएको हो ।
गाउँपालिकामा विहीबार आयोजित एक कार्यक्रमकाविच स्थानीय अगुवा प्रेमराज त्रिपाठीको संयोजकत्वमा २५ सदस्यीय समुह निमार्ण भएको हो ।
गठित समूहले गाउँपालिका अन्र्तगत मानव अधिकारसंग सम्वन्धित विभिन्न सवालहरुको खोजी गर्ने, पहिचान गर्ने, घटना दर्ता गर्ने, घटनाको प्रकृति छुट्टायाउने, बैठक बसेर छलफल गर्ने र घटना र सवालको प्रकृति अनुसार कानूनी प्रक्रियाका लागि स्थानीय तहमा पठाउने छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, सदस्य शैलेन्द्र बैश्य, बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद त्रिपाठी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना बारे जानकारी गराएका थिए । यस्तै कार्यक्रम संयोजक टेकनाथ आचार्य र कार्यक्रम अधिकृत जनक थापाले हिंसा निगरानी समुहको काम कर्तव्य अधिकार र अन्य गतिबिधीहरुका बारेमा जानकारी गराएका थिए ।
संस्थाले बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकालाई मानवअधिकार मैत्री नमूना गाउँपालिका बनाउने परियोजना शुरु गरेको छ ।